टोकियाे ओलिम्पिक-२०२० काे आज समापन, अमेरिका शिर्ष स्थानमा
इन्भेष्टोपेपर । श्रावण २४, २०७८
काठमाण्डाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदकाे आज समापन भएकाे छ । यस ओलम्पिकमा अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित कूल ११३ पदक हासिलगरि पहिलाे भएकाे छ भने चीन ३८ स्वर्ण ३२ रजत र १८ कास्यसहित कूल ८८ पदक प्राप्त गरेर दाेश्राे स्थानमा रहेकाे छ ।
यसैगरी आयोजक जापान तेस्रो स्थान र संयुक्त अधिराज्य बेलायत पदक तालिकाकाे चाैथाे स्थानमा रहेका छन् । जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कूल ५८ पदक प्राप्त गरेको छ भने बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदकसहित कूल ६५ पदक प्राप्त गर्न सफल भएको छ । कुल पदक तालिकामा भने रसियन ओलम्पिक कमिटी तेश्राे, बेलायत चाैथाे र जापान पाँचाैं स्थानमा रहेका छन् ।
यस्तै २० स्वर्ण, २८ रजत र २३ कास्य पदककासाथ ७१ पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचाैं स्थानमा रहेको छ । अस्ट्रेलिया १७ स्वर्ण, ७ रजत र २२ कास्य पदकका साथ छैठाैँ स्थानमा रहेको छ । अष्ट्रेलियाले कुल ४६ पदक प्राप्त गरेकाे छ ।
यसैगरि नेदरलैण्ड, फ्रान्स, जर्मनी र इटालीले समान १० / १० वटा स्वर्ण पदक हासिल गरेकाछन । रजत पदक क्रमश १२, १२, ११ र १० वटा प्राप्त गरेकाले पदक तालिकाकाे साताैँ, आठौँ, नवौँ र १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये ९३ देशले मात्र पदक प्राप्त गर्न सफल भएका छन् । यसमध्ये जम्मा ६३ देशहरूले मात्र स्वर्ण पदक हात पार्न सफल भएका छन । गत रियाे ओलम्पिककाे तुलनामा अमेरिका स्वर्ण पदकसहित कुल पदक तालिकामा तल झरेकाे छ भने चीन तथा जापानले पदक बढाएकाछन् ।
टोकियाे ओलिम्पिक गत जुलाई २३ बाट सुरु भएको थियो। यस ओलिम्पिकमा अन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए। छिमेकी देश भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ भने चार खेलमा भाग लिएकाे नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएकाे थियाे ।

