चितवन निकुञ्जमा पर्यटकको ओइरो
इन्भेष्टाेपेपर । कार्तिक १४, २०७९
चितवन । तिहार र छठ पर्वको लामो बिदामा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुंगा र पैदल यात्रा गर्नेहरू धेरै छन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लै देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था छ ।
भाइटीकाको भोलिपल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको व्यवसायीको भनाइ छ । संख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको संख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटेल भरिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले निकुञ्जमा दैनिक पर्यटक घुमाइरहेको बताउँनुहुन्छ । नेचर गाइडको सहयोगमा पैदल यात्रा गर्ने, डुंगामा घुम्नेको संख्या पनि निकै बढेको उहाँले जानकारी दिनुभयाे । उहाँका अनुसार दैनिक १० देखि १५ लाख रुपैयाँ राजस्व संकलन भइरहेको छ ।
सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशभरबाट आन्तरिक पर्यटक आएको बताउनुभयाे । ‘अहिले त कुरा गर्ने फुर्सद पनि छैन,’ उहाँले भन्नुभयाे । सहकारीका ३२ हात्तीले दैनिक चारपटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उहाँले बताउनुभयाे । ऋषिले आफ्नो होटेल विराटनगरदेखिका आन्तरिक पर्यटकले भरिएको र लामो बिदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको उहाँको भनाइ छ । पर्यटक घुमाउन सवारीसाधनको अभाव भएको ऋषिले जानकारी दिनुभयाे ।
पर्यटक बढेसँगै रेस्टुरेन्ट भरिभराउ छन् । रेस्टुरेन्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताउनु हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटकले रेस्टुरेन्ट भरिएका छन् । पर्यटकले बजार क्षेत्रका होटेलमा कोठा नपाएको गुनासो गरेको रेस्टुरेन्ट एन्ड बार एशोसिएशन सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले जानकारी दिनुभयाे । सौराहामा ८० हाराहारी रेस्टुरेन्ट छन् । ‘कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन्,’ उहाँले भन्नुभयाे ।
सौराहाको युनिक वाइल्ड रिसोर्टका सञ्चालक गुणराज थपलिया अहिले यूरोपेली पर्यटक पनि राम्रो रहेको बताउँनु हुन्छ । उहाँले भन्नुभयाे, ‘मेरो होटेलका ३० ओटा कोठा सबै भरिएका छन् ।’ स्वदेशीसँगै अस्ट्रेलिया, नेदरल्यान्डलगायत देशका पर्यटक रहेको उहाँले बताउनुभयाे ।
राप्ती नदी किनारमा रहेको होटेल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक र बाह्य पर्यटकले होटेल भरिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो वर्षको तिहारको व्यापार धेरै राम्रो छ ।’ आफ्नो होटेलका ३५ ओटा कोठा भरिएको उहाँले जानकारी दिनुभयाे ।
क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले अहिले पर्यटकको चहलपहल उत्साहजनक रहेको बताउनु भयाे । होटेल कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उहाँको भनाइ छ । ‘होटेलमा बस्नेभन्दा घुम्ने र फर्किने धेरै छन्,’ उहाँले भननुभयाे, ‘जसले गर्दा हात्ती, जीप, डुंगा, सांस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन सकेका छैनन् ।’
पटिहानीमा रहेको जंगल भिल्लाका सञ्चालक गणेश पौडेल पनि पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको बताउँनुहुन्छ । राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौओटा ठूला होटेलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उहाँले जानकारी दिनुभयाे । ती होटेलमा कुनै दिन भरिने र कुनै दिन केहीमात्र कोठा रहने गरेका छन् । कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ, भालु, घडियाल गोही, चरालगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुकका र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्छ । यहाँ हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न, जीप सफारी, पैदल यात्रा र डुंगामा सयर गर्न पाइन्छ । थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ । (रासस)
