नेपाल राष्ट्र बैंक ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल तथा ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै
Investopaper, जेष्ठ १२, २०७६
नेपाल राष्ट्र बैंकले जेठ १३ गते ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिने ३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै छ । यस्तै ९१ दिने अवधिको ५ अर्ब २३ करोड ३२ लाख, १ सय ८२ दिने अवधिको ६ अर्ब ४७ करोड र ३ सय ६४ दिने अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरी विक्री गरिने वैंकले जनाएकाे छ।
यसैगरी नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जारी गरेकाे सूचना अनुरूप आज जेठ १२ गते आइतबार देखि ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । यो १४ वर्षे अवधिको हुनेछ। १३ गते जारी मिति तोकिएको ऋणपत्रको परिपक्व २०९० जेठ १३ गते हुनेछ।
केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् ।
उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ६ अर्ब ४० करोड (८० प्रतिशत) र एक अर्व ६० करोड (२० प्रतिशत) छुट्याइएको छ। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ।
घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
