तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

इन्भेष्टोपेपर । चैत्र ०९, २०७८

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो । तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन ।

मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुन बताउनुहुन्छ । 

“मनमोहक झरनाको हामीले प्रचारप्रसार गर्न सकेका छैनौँ । यसको प्रचार–प्रसार गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उक्त झरनाको लम्बाइ ३० मिटर रहेको छ । झरनाभित्र एउटा गुफासमेत छ । त्यसले पनि पर्यटकलाई आकर्षित गर्न सक्ने  स्थानीय पलबहादुर खड्काले बताउनुभयो । “त्यहाँसम्म पुग्न सडक निर्माण आवश्यक छ”, उहाँले भन्नुभयो । 

झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ । झरनाको सिरानमा दुईवटा ताल छन् । तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ । एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगी झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताउनुहुन्छ । “यसको विकासका लागि गुरुयोजना बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *