तुर्कमानी लोककथा : बुद्धिमान केटो
— अनुवादकः सरण राई
एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर चाकरहरू पनि थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु पर्यो । सबैजना नाउमा बसेर नदी तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो । नाउ टुक्रा टुक्रा भयो । मनिसहरू डुबे । तन्नेरी नोकरहरुमध्ये एकजना मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी रह्यो ।
किनारामा पुगेपछि ऊ जता पायो उतै गयो । टाढैबाट एउटा नगर देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन् होला ?” डराउदै उसले सोच्यो । त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।
“यो के गरेको होला ? यसलाई के सम्झनुपर्ने हो ?” उसले आफ्नो वरिपरी जम्मा भएका मानिसहरूलाई सोध्यो । “हाम्रो देशमा यस्तै प्रथा छ”, सेतो दाह्री भएको एक जना भलादमी बूढाले जवाफ दियो, “जब राजाको राज्य अवधि सकिन्छ, र हाम्रो यहाँ यो एक वर्षको हुन्छ, तब राजालाई हामी पहाडतिर लान्छौँ, जहाँ सर्प–बिच्छुहरूको बस्ने ढिस्काहरूले भरिएको खाडलहरू छन्, र उसलाई त्यहाँ सर्प र बिच्छुहरूले टोकेर मर्नका लागि फ्याकि दिन्छौँ । त्यसको ठाउँमा जो नगरको ढोकामा सबैभन्दा पहिला आउँछ, उसैलाई सिंहासनमा राख्छौँ । यस पटक हामीले तिमीलाई भेट्यो, यसकारण तिमीलाई हाम्रो राजा बनाएका छौँ ।”
“यसको माने यो भयो कि जबसम्म म राजा रहनेछु”, शान्त भएर युवकले सोध्यो, “म जे चाहन्छु गर्न सक्छु ।” “पक्का हो”, भलादमीले जवाफ दियो, “एक वर्ष सबै तिम्रो हातमा छ ।”
आफ्नो शासनको थालनी नै युवकले त्यो डरलाग्दो पहाडको आक्रमणबाट शुरु गर्यो । उसले एउटा ठूलो सेना जम्मा गर्यो र सर्पहरू र बिच्छुहरू मात्र नभएर उसले त्यस पहाडमा भएका सबै हिंस्रक जीवजन्तुहरूलाई सखाप पार्यो । यसपछि त्यहाँ कुलो खन्ने र बगैचा लगाउने आदेश दियो र त्यहाँ नगर बसायो । जब उसको राज्य गर्ने अवधि समाप्त भयो, मान्छेहरूलाई त्यो डरलाग्दो ठाउँको सम्झना समेत रहेन । मानिसहरूले आफ्नो राजाको काम देखेर उसलाई फेरि छाने । यस प्रकार ऊ धेरै वर्षसम्म बाँच्यो र आफ्नो प्रजाको भलाईको लागि थुप्रै राम्रा कामहरू गर्यो ।
साभार–‘तुर्कमनी लोक कथाएं’ रादुगा प्रकाशन, मास्को, १९८२ ई.सं.
सरण राई http://kathaasansaar.blogspot.com/
