बाह्र दिनपछि उपत्यकाको फोहर उठ्न थाल्याे

इन्भेष्टोपेपर । फागुन १२, २०७८

काठमाडौं ।  बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो ।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो ।

बाह्र दिनपछि फोहरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।

ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । उहाँका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”

सडक बनाउने जिम्मेवारी

सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।

कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ ।

काठमाडौं उपत्यकाको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *