समानुपातिक तर्फको मत गणनामा एमालेकाे अग्रता कायमै, प्रत्यक्षतर्फ ६४ स्थानकाे घाेषणा
इन्भेष्टाेपेपर । मंसिर ८, २०७९
काठमाण्डाैँ । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । हालसम्म प्रतिनिधी सभाकाे ६४ स्थानकाे अन्तिम नतिजा प्रकाशित भैसकेकाे छ । नेपाली काग्रेसले सबैभन्दा धेरै २५ स्थानमा विजय प्राप्त गरिसकेकाे छ भने १५ स्थानमा नेकपा एमालेले विजय हात पारेकाे छ ।
यसैगरि सत्ता गठबन्धनकाे नेकपा (माके)ले ७ स्थानमा विजय हासिल गरेकाे छ । यसैगरि अर्काे सत्ता गठबन्धनकाे घटक नेकपा एसले ६ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा, राप्रपाले २ स्थानमा र अन्य दल तथा स्वतन्त्र १ सहित ४ स्थानमा जीत हासिल गरेका छन् ।
अहिलेसम्मको समानुपातिक तर्फकाे मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।
अहिलेसम्म एमालेले ४ लाख ९९ हजारभन्दा बढी मत प्राप्त गरेको छ भने कांग्रेसले ४ लाख ६५ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब २ लाख ५८ हजार मत प्राप्त गर्दा माओवादीले २ लाख २६ हजार मत प्राप्त गरेकाे छ । यसैगरि पाँचौं स्थानमा रहेको राष्ट्रि प्रजातन्त्र पार्टीले १ लाख ३५ हजारभन्दा बढी मत प्राप्त गरेकाे छ ।
त्यस्तै जनमत पार्टीले करीव ३३ हजार, जनता समाजवादी पार्टीले ५७ हजार १ सय, नेपाल मजदुर किसान पार्टीले ४७ हजार १ सय मत प्राप्त गरेकाछन् । नागरिक उन्मुक्ति पार्टीले ३२ हजार ७ सय मत पाउँदा नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिकतर्फ जम्मा ३१ हजार ८ सय मत प्राप्त गरेको आयोगले जनाएको छ ।
