इरान युद्धमा अमेरिकाको खर्च १० खर्ब डलरतर्फ

इन्भेष्टाेपेपर ।  वैशाख ३०, २०८३

वासिङ्टन ।  इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै गएको छ । 

पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको स्वीकार गरे पनि विज्ञहरूले वास्तविक खर्च त्यसको धेरै गुणा बढी भइसकेको दाबी गरेका छन् । 

दीर्घकालीन सैनिक खर्च, दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको लागत जोड्दा यो युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी दिइएको छ ।

पेन्टागनका वरिष्ठ बजेट अधिकारी जे हर्स्टले मङ्गलबार अमेरिकी सांसदहरूसामु गवाही दिँदै इरानविरुद्धको सैन्य अभियानमा हालसम्म २९ अर्ब अमेरिकी डलर खर्च भइसकेको जानकारी दिनुभयो । यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई करिब २५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान दिएको थियो । तर पछिल्ला परिचालन खर्च, उपकरण मर्मत तथा सैन्य सामग्री प्रतिस्थापनको लागत बढेपछि अनुमान पुनः संशोधन गरिएको हो ।

हर्स्टका अनुसार युद्ध क्षेत्रमा सैनिक तैनाथ राख्न लाग्ने दैनिक खर्च, क्षतिग्रस्त उपकरणको मर्मत, मिसाइल प्रणालीको पुनःस्थापना र सैन्य तयारीलाई कायम राख्नुपर्ने अवस्थाले खर्च उल्लेखनीय रूपमा बढाएको छ । 

उहाँले अमेरिकी सिनेटको एप्रोप्रिएसन उपसमितिको सुनुवाइमा अहिलेको २९ अर्ब डलरको अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा पुगेको क्षतिको लागतसमेत समावेश नभएको स्पष्ट पार्नुभयो ।

“यस क्षेत्रका सैन्य अड्डामा पुगेको क्षतिको पूर्ण मूल्याङ्कन अझै गरिएको छैन”, हर्स्टले भन्नुभयो ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पेन्टागनभित्र गरिएका आन्तरिक मूल्याङ्कनहरूले युद्धको वास्तविक लागत अझै धेरै माथि पुग्ने सङ्केत दिएका छन् । 

क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, सैन्य सम्पत्तिको प्रतिस्थापन तथा अतिरिक्त सैन्य तयारीको हिसाब गर्दा खर्च ४० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि हार्वर्ड केनेडी स्कुलले हालै सार्वजनिक गरेको अनुसन्धानले भने स्थिति अझ गम्भीर हुन सक्ने देखाएको छ । युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसले इरान युद्धको कुल लागत अन्ततः १० खर्ब अमेरिकी डलरसम्म पुग्ने दाबी गर्नुभएको छ । 

उहाँका अनुसार अहिले सार्वजनिक गरिएको खर्च वास्तविक युद्ध लागतको सानो हिस्सा मात्र हो, आगामी वर्षहरूमा यसको आर्थिक भार अझ धेरै बढ्ने छ ।

बिल्मेसले छोटो अवधिको प्रत्यक्ष सैन्य खर्च मात्रै प्रतिदिन करिब दुई अर्ब अमेरिकी डलर पुगिरहेको बताउनुभयो । 

यसमा मिसाइल प्रहार, अवरोधक प्रणाली सञ्चालन, विमानवाहक युद्ध समूहको परिचालन, सैनिकहरूको युद्ध भत्ता, उपकरण मर्मत तथा क्षतिग्रस्त सैन्य सामग्रीको प्रतिस्थापन समावेश रहेको उहाँले उल्लेख गर्नुभयो ।

अनुसन्धान प्रतिवेदन अनुसार युद्ध सुरु भएको प्रारम्भिक केही दिनमै अमेरिकाले कम्तीमा १६ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री प्रयोग गरिसकेको थियो । महँगा मिसाइल प्रणालीको तीव्र प्रयोग र उच्च परिचालन लागतका कारण यो खर्च पेन्टागनको प्रारम्भिक अनुमानभन्दा धेरै माथि पुगेको हो ।

बिल्मेसका अनुसार अमेरिकाले इरान युद्धको पहिलो चार दिनमै पछिल्ला चार वर्षमा युक्रेनलाई उपलब्ध गराएको भन्दा बढी प्याट्रियट मिसाइल प्रहार गरेको थियो । उहाँले अमेरिकी सैन्य भण्डार तीव्र गतिमा खाली हुँदै गएको र तिनको पुनःउत्पादन अहिलेको बजार मूल्यमा अत्यन्त महँगो पर्ने बताउनुभयो ।

उहाँका अनुसार अमेरिकी सूचीमा रहेका टोमहाक मिसाइलहरूको पुरानो मूल्य करिब २० लाख अमेरिकी डलर भए पनि अहिले त्यही मिसाइल पुनःउत्पादन गर्न ३० लाखदेखि ३५ लाख अमेरिकी डलरसम्म खर्च लाग्छ । 

त्यसैगरी प्याट्रियट मिसाइलको पुरानो लागत १० लाखदेखि २० लाख अमेरिकी डलर रहे पनि नयाँ संस्करणहरूको मूल्य प्रतिगोटा ४० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म पुगेको छ । इन्धन, सैन्य उपकरण र अन्य आपूर्तिमा पनि यस्तै मूल्यवृद्धि देखिएको उहाँले बताउनुभयो ।

बिल्मेसले युद्धका कारण अमेरिकी रक्षा उद्योगलाई ठुलो आर्थिक अवसरसमेत सिर्जना भएको उल्लेख गर्नुभयो । लकहिड मार्टिन र बोइङजस्ता रक्षा कम्पनीहरूसँग मिसाइल तथा अवरोधक प्रणाली उत्पादन बढाउन ठुला सम्झौताहरू भइरहेका छन् । साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूको पुनर्निर्माण र सुरक्षामा थप अर्बौं डलर खर्च हुन सक्ने बताइएको छ ।

विशेषज्ञहरूले दीर्घकालीन आर्थिक असर अझ गम्भिर हुन सक्ने चेतावनी दिएका छन् । 

युद्धमा सहभागी हजारौँ अमेरिकी सैनिकहरू भविष्यमा स्वास्थ्य समस्या, अशक्तता तथा मानसिक आघातबाट प्रभावित हुन सक्ने भएकाले उनीहरूको उपचार र सेवा–सुविधामा पनि ठुलो रकम खर्च हुनसक्ने अनुमान गरिएको छ । 

विशेषगरी पिएसिटी ऐनअन्तर्गत दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा खर्च आगामी दशकहरूमा बढ्दै जाने बताइएको छ ।

बिल्मेसले बढ्दो रक्षा खर्च र युद्ध सञ्चालनका लागि लिइँदै आएको ऋणले अमेरिकाको राष्ट्रिय ऋणलाई थप चर्काउने चेतावनी दिनुभयो । हाल अमेरिकाको राष्ट्रिय ऋण करिब ३१० खर्ब अमेरिकी डलर पुगेको छ ।

“म निश्चित छु, इरान युद्धका कारण अमेरिका अन्ततः १० खर्ब डलरभन्दा बढी आर्थिक भारमा पुग्ने छ । सम्भवतः त्यो रकमको ठुलो हिस्सा अहिले नै प्रतिबद्ध भइसकेको छ”, बिल्मेसले भन्नुभयो । (रासस, एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *