नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन
मंसिर १३, २०७६
काठमाडौं । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।
महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ÷सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताउनुभयो । झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उहाँले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको छ तर यहाँ नै तरकारीको अभाव रहेका कारण मागअनुसार पठाउन नसकेको उहाँले बताउनुभयो । भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उहाँले बताउनुभयो ।
नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन । यदि सरकारले सहयोग गर्यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उहाँले दाबी गर्नुभयो । त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उहाँले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताउनुभयो । नेपाल आफैं तरकारीमा आत्मनिर्भर छैन । भारत लगायतबाट आयात भएपछि मात्र छाक टार्छ । यस अवस्थामा नेपालमा मात्र उत्पादन हुने तरकारी अरब, कतारसम्म पुर्याउनु कम चुनौती नरहेको उहाँले बताउनुभयो ।
सुरुमा कालीमाटीबाट तरकारी किन्न खोजेँ तर त्यहाँ महँगो हुनुका साथै नेपालको खेतबारीमा पाउने तरकारी पाउन गाह्रो भयो, त्यसपछि आफ्नो कम्पनीले काठमाडौँ वरपरका किसानको खेतमै गएर किनेर पठाउन थालेको उहाँले बताउनुभयो । अहिले कम्पनीका आफ्नै तरकारी फार्म छन् । काठमाडौँको रामकोट, दहचोक, ललितपुरको लामाटोलमा आफ्नै कृषि फार्म छन्, त्यसबाट उत्पादन भएको तरकारीले पनि नपुगेको बताउँदै उहाँले एउटा ठूलै लगानीको फार्म खोल्न तयारी भइरहेको बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
