उपराष्ट्रपतिद्वारा ग्याल्पो ल्होसार–२१५२ को शुभकामना

न्भेष्टाेपेपर ।  फागुन १६, २०८१

काठमाण्डाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शेर्पा समुदायको महान पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको पावन अवसरमा देश र विदेशमा रहनु भएका शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु सहित सबै देशवासीहरुमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना सन्देश दिनुभएकाे छ ।

सन्देशमा भनिएकाे छ – “नव आशा, उमङ्ग र उल्लासको प्रतीकका रुपमा रहेको यो पर्वले सिंगो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्दछ । यो पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रुपमा लिन सक्नुपर्दछ ।

यस अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजन हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउँदछ । परम्परागत पोशाकमा सज्जिएर मनाइने यो पर्वले हाम्रो सांस्कृतिक विविधताको महत्वलाई उजागर गर्दै त्यसको संरक्षण, प्रवर्धन र जीवन्ततामा सहयोग पुग्दछ।

यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजातिहरु शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजमा सांस्कृतिक घुलनका कारण अन्य चाडपर्वमा जस्तै पछिल्लो समय अरु समुदायका मानिसहरुको पनि यसमा उल्लेख्य सहभागिता जनाउँने गरेका छन्  । यसले राष्ट्रिय एकतालाई थप बलियो, प्रगाढ र सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई अक्षुण्ण बनाइ राख्न सबैलाई उत्प्रेरित पनि गर्दछ । 

यो पर्वका अवसरमा घरपरिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भई घरमूलीबाट आशिर्वाद थाप्ने र गुम्बा दर्शन गर्ने परम्परा रही आएको छ । देवीदेवता, धर्मगुरुहरु, रिम्पोछे, गौतम बुद्ध र लामाहरुको पूजाआजा गर्ने चलन छ । ग्याल्पो ल्होसारको अवसरमा चामल र घिउ लगायतको मिश्रणबाट तयार पारिएको टिका टाउकोमा राखेर प्रगति र सुस्वास्थ्यको कामना गर्दै आशिर्वाद लिने र दिने परम्परा एउटा सुसंस्कृत परम्पराको पहिचान हो । यस अवसरमा विशेष परिकारहरु खाप्से (पिठोबाट घिउ वा तेलमा बनाइएको मौलिक रोटी), छ्याङ्ग्रु, डेशिल (पुलाउँ), गुथुक (नौ थरीको गेडागुडी मिसाएर बनाइने खाद्य वस्तु) पकाएर खानु र खुवाउनुले यो पर्वको महत्व झनै बढाएको छ । यसले कृषि उपजको संरक्षणमा जोड दिँदै रैथाने संस्कृतिको जगेर्ना गर्नमा सघाउँदछ । 

अन्त्यमा, सामूहिक रुपमा एकअर्काको हात समाएर सुख र दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनु, तुङ्गना (डम्याङ) को संगीतमय वातावरण सिर्जना गर्नु यो पर्वको मौलिकता हो । यसले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सजग र सचेत रहेको संदेश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई प्रवाह गर्दछ ।  ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व हो जसले धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूलाई सवल, सुदृढ एवम् उन्नत बनाउँदै देश र समाजलाई प्रगति उन्मुख बनाओस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु” ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *