भिजन लुम्बिनी उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

न्भेष्टाेपेपर । कात्तिक २० २०८०

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्धक भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ।

माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेकाे सार्दिखोला भराभरीस्थित सेतीनदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड छ । यसमा रु. तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *