मनसुन सक्रिय : देशभरि बदली रही धेरै स्थानमा भारी वर्षाको सम्भावना

Investopaper, भाद्र २०, २०७६

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ । 

मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ। यसको प्रभावले तीन दिन देशभर वर्षा हुनेछ।

‘पश्चिम र मध्य भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् समिर श्रेष्ठले भने। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण-उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालदेखि बङ्गालको खाडीसम्म बुझ्नुपर्ने हुन्छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ। साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिम भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४४ मिलिटिर वर्षा भएको छ। त्यस्तै दिपालयमा ३.८, वीरेन्द्रनगरमा ११.२, जुम्लामा ८.२ र पोखरामा १.० मिलिमिटर वर्षा भएको छ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *