साप्ताहिक माैसमी सारांश तथा कृषि कर्म

इन्भेष्टोपेपर । आश्विन ३१, २०७८

नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै पनि हामी कृषिमा नयाँ प्रविधिकाे प्रयाग गरेर समुिचत लाभ लिन सकिरहेका छैनाै । समस्त कृषकसामु न त मनग्गे सेवा सुविधा पुगेकाे छ न त लगानी । कृषि कर्ममा अग्रिम जानकारी भयाे भने मात्र सहि समयमा सहि निर्णय गर्न सकिन्छ र जाेखिम न्यनिकरण हुन्छ ।

समस्त कृषककाे हितकाे लागि कृषि विभागद्वारा नियमित प्रकाशन गरिने कृषि सल्लाह बुलेटिनलाइ साभार प्रकाशित गरिएकाे छ ।

मौसमी सारांश:

गत साता प्रदेश नं-१ को अधिकांश केन्द्रहरु र अन्य प्रदेशका केही केन्द्रहरुमा वर्षा मापन भएको छ। प्रदेश नं-१, प्रदेश नं-२ र गण्डकी प्रदेशका केही जिल्लाहरुमा ५० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। तराईका सबै स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र केही स्थानहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ।

साताको शुरुमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का हिमपात, मध्यमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात र साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै साताको अन्त्यमा सुदूर-पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना देखिन्छ।

देशका पहाडी भेगमा साताको शुरुमा आंशिक बदली रही प्रदेश नं-१ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षा, मध्यमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै सुदूर-पश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं-१ का थोरै स्थानहरुमा भारी वर्षा र प्रदेश नं-१ का एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना देखिन्छ।

देशका तराई भेगमा साताको शुरुमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षा, मध्यमा आंशिक दखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै साताको अन्त्यमा सुदूर-पश्चिम प्रदेश, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश नं-१ र प्रदेश नं-२ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ।

यो साता देशका अधिकांश भू-भागहरुमा अधिकतम तापक्रम तथा हिमाली भु-भागमा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना देखिन्छ भने पहाडी तथा तराईका भु-भागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने देखिन्छ।

कृषि सारांश:

आगामी साताका अधिकांश दिनहरुमा देशका अधिकांश भू-भागहरुमा हल्का देखि धेरै भारी वर्षाको संभावना भएकोले पाकिसकेको धानलाई मौसमको अनुकुलता हेरेर भित्र्याउनुहोस्।

धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।

धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेत भित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।

मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात: लुम्ले -१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातहरुलाई बेभिष्टिन २ ग्राम प्रति के.जी. का दरले उपचार गरी लगाउनुहोस्।

यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।

तराई, भित्री-मधेश तथा बेँशीमा शित भण्डारणबाट निकाली राम्रोसँग टुसाएका खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलु मौसमको अवस्था हेरी रोप्नुहोस्।

२०-२५ दिन पुगेको खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको तयारी बिरुवाहरु साँझपख सार्नुहोस्।

मध्यपहाडी भेगमा बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।

मिनो अर्ली र प्यूठाने रातो जातको मूला रोप्नुहोस्।• चाडपर्वको समयमा विभिन्न ठाँउहरुबाट आयात हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुने भएकोले आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुबाट टाढै राख्नुहोस्।

बंगुरमा खोरेत र स्वाइन फिभर विरूद्ध खोप लगाउनुहोस्। साथै ३-१४ दिनका बंगुरका पाठापाठीहरुलाई रक्तअल्पताबाट बचाउन आईरन इन्जेक्सन लगाउनुहोस्।

बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।

यो समयमा परेको पानीले ट्राउट माछामा पातलो पहेँलो दिसा (कक्सिडियोसिस रोग) देखिन सक्ने हुँदा दानामा टोल्ट्राजुरिल १५ मिलिग्राम प्रति के.जी. माछाका दरले भटमासको तेल (०.७% प्रति के.जी. दाना) मा मिसाई खुवाउनुहोस्। पहेंलो दिसासँगै रगत पनि मिसिएको देखिएमा भिटामिन के १०० मिलिग्राम प्रति के.जी. दानामा थप गरि ७ दिनसम्म दिनुहोस्।

मध्यपहाड र तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्। उच्च पहाडी र हिमाली भेगमा क्लोभर, राईग्रास, कोते लगाउनुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *