आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
इन्भेष्टाेपेपर । कार्तिक ०२, २०७७
कोरोना महामारी बीचको बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ। घटस्थापना गरेसंगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अन्तर्गत आज ब्रह्मचारिणी देवीको पूजा गरिएको हो।
ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ। राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनी, नेपालगन्जको बागेश्वरी, सुर्खेतको देउतीबजै र प्युठानको स्वर्गद्वारीलगायतका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ।
तर यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले धेरै शक्तिपीठहरु बन्द गरिएको छ। केही खुलेका शक्तिपीठहरुमा भने स्वास्थ्य सुरक्षालाई कडाईका साथ पालना गरि पूजा र दर्शन गराइएको छ। तर बन्द भएका मठ-मन्दिरहरुमा पनी त्यहाँका पूजारीहरुबाट नित्य पूजा गरिदै आएको छ।
