अब नेपाल ‘ल्यान्ड लक्ड’ हाेइन ‘ल्यान्ड लिंक्ड’ काे रूपमा चिनिनुपर्छ

Investopaper, भाद्र ३१, २०७६

काठमाडौँ — अन्तर्राष्ट्रिय मामिला र नेपाल–चीन सम्बन्धबारेका चिनियाँ विज्ञहरूले एउटै हिमालको पानी पिउने दुई छिमेकीबीच विकास र समुन्नतिका समान रणनीति पहिल्याउन जरुरी रहेको बताएका छन् ।

सेन्टर फर साउथ एसियन स्टडिजले सोमबार राजधानीमा आयोजना गरेको नेपाल–चीन सम्बन्धबारेको अन्तरसंवादमा सांघाई अन्तर्राष्ट्रिय अध्ययन संस्थाका अध्यक्ष डा. चेन दोङसियाओले विश्व बजारमा रहेको औद्योगिक अर्थतन्त्र बिस्तारै ‘डिजिटल इकोनमी’ मा रूपान्तरण हुँदै गएको बताए ।

‘सधैं चल्दै आएको पश्चिमा नियम र मान्यता बिस्तारै खस्कँदै गएको छ,’ कूटनीतिक वृत्तमा थिंक–ट्यांकका रूपमा चिनिएका दोङसियाओले भने, ‘अबको समय ग्लोबल रूपमै आधुनिकीकरणतर्फ गइरहेको छ, बदलिँदो समय र अवस्थालाई आत्मसात् गरेर नेपाल–चीन छिमेकको सम्बन्ध तथा परस्पर सहयोग केन्द्रित हुनुपर्छ ।’

चिनियाँ कूटनीतिज्ञ लिउ युफाले हिमालयले जोडेको दुई छिमेकी नेपाल–चीनलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) ले आउने दिनमा परस्पर सहयोगका मामलामा राजनीतिक मार्गनिर्देशन दिन सक्ने मन्तव्य राखे । ‘अब नेपाललाई ल्यान्ड लक्ड (भूपरिवेष्टित) भनेर चिन्ने होइन, छिमेकीसँग ‘ल्यान्ड लिंक्ड’ का रूपमा चिनिनु अर्थपूर्ण हुनेछ,’ पूर्वराजदूतसमेत उनले भने, ‘५ सय मिलियनभन्दा बढी चिनियाँ बौद्धमार्गी छन् । यसमा १ प्रतिशत मात्रै नेपाल भ्रमणमा आएमा यहाँको पर्यटन उद्योग अर्कै हुन्छ । यसका लागि सडक, होटल र अन्य पर्यटकीय सुविधाहरू जोडिनु जरुरी छ ।’

चीन–नेपालको भौगालिक अवस्थिति र बीआरआई परियोजनाका बारे चर्चा गरे पनि विज्ञहरूले बीआरआई प्रस्तावित योजनाको केरुङ–काठमाडौं रेल्वे लिंकका बारेमा कसैले पनि सरोकार राखेका थिएनन् । सेन्टर फर साउथ एसियन स्टडिजका प्रमुख डा. निश्चलनाथ पाण्डेले काठमाडौंको रिङरोड र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि हाल निर्माणाधीन काठमाडौं विमानस्थल विस्तार तथा पोखरा र भैरहवा विमानस्थलमा पनि चिनियाँ दक्ष जनशक्ति काममा जुटेको जानकारी दिएका थिए । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *