आज कोजाग्रत पूर्णिमा : सम्पन्नताका लागि महालक्ष्मीकाे पूजाराधना र जाग्राम बसि मनाइँदै

इन्भेष्टाेपेपर । कार्तिक १४, २०७७ 

आज बडादशैंकाे अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा जुन प्रत्येक बर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पर्दछ र दशैंकाे रमझम पनि समाप्त हुन्छ । काेजाग्रत पूर्णिमाकाे साँझ धन र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजका दिन देशका बिभिन्न दुर्गामन्दीर र काेटहरमा पूजाराधना तथा बली दिने प्रचलन छ र साँझ जमरा, टिकाे, फूलपाति नदी, तलाउ वा जलासयमा लगेर विधिपूर्वक सेलाउने प्रचलन छ ।

उक्त दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर उक्त दिन दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । यो राति जुवा खेल्ने विधानसमेत रहेको उहाँले बताउनुभयो । पहिले पहिले आजका दिनदेखि तिहारसम्म जुवा फुकेकाे मानेर खेल्ने प्रचलन थियाे ।

‘कोजाग्रत पूर्णिमामा सबै देवीका लागि पूजा पूरा गर्ने दिन अर्थात् अखिल पूजा पूर्ति गरेपछि दसैँ समाप्त हुन्छ । महालक्ष्मीसँगै योदिन हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि यहीदिनदेखि आकाशदीप दान पनि शुरु हुन्छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई गरिन्छ । आकाशदीप दानकाे लागि कागजकाे घर बनाएर लिँगाकाे टुप्पाेमा राखि एक महिनासम्म बाल्ने गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि यहीदिनदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर अनेकौँ कर्मदेखि महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

कार्तिक स्नान गर्नेले योदिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *