एसियन लाईफको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै।
एसियन लाइफ इन्सुरेन्स(ALICL) को हकप्रद निष्काशन बाट बिक्री नभएको २ लाख २१ हजार ३५९ कित्ता शेयर लिलामीमा आउने भएको छ।
कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार यही असार १ गतेबाट कम्पनीको २ लाख १८ हजार ९ सय उननचालिस कित्ता सर्वसाधारण शेयर र २ हजार ४ सय २० कित्ता प्रमोटर शेयर लिलामीको लागी खुल्ला गरिने छ। लिलामी अवधि भने असार ८ गते सम्म रहेको छ।
शेयर लिलामी प्रयोजनको लागी बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको प्रमुख कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरुबाट १०० रुपैया तिरेर आवेदन फारम लिन सक्ने छन्। यस्तै उपत्यका बाहिरका लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयबाट फारम लिन सक्नेछन्।
आवेदन संख्या भने प्रमोटरको लागी न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागी न्यूनतम १०० कित्ता तोकिएको छ।इच्छुक लगानीकर्ताले रकम भने पुतलीसडकको कुमारी बैंकमा गएर एनआईबिएल एस क्यापिटलको नाममा रहेको खाता नं ००१००००६५७७००००४ मा जम्मा गर्नुपर्नेछ। यस्तै गुड्स फोर पेमेन्ट चेक भने सिधै एनआईबिलएस क्यापिटलको नाममा काट्न मिल्नेछ।
एसियन लाईफको अधिकृत पुँजी ६० प्रतिशत हकप्रद समायोजन पछि २ अर्ब पुग्नेछ। कम्पनीको अन्तिम कारोबार मूल्य ४०१ रुपैया रहेको छ।
