कपिलवस्तु सहकारीमा ठगी : १२ करोड हिनामिना
Investopaper, मंसिर ११, २०७६
कपिलवस्तु : कपिलवस्तुको एक प्रतिष्ठित सहकारी संस्थामा कर्मचारीबाट करोडौं रुपैयाँको हिनामिना भएको छ। कपिलवस्तु नगरपालिका १ कालिकाटोलस्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीबाट करिब १२ करोड रुपैयाँ हिनामिना भएको हो।
सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमुद बर्माले बताए। २०७४ असार २१ गतेदेखि २०७५ माघ २५ गतेसम्म ४ वटा ठेलीको हिसाब गर्दा कार्यालय सहायक कान्दुले उक्त रकम हिनामिना गरेको देखिएको छ।
कार्यालय सहायक कान्दु उपर थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराउने तयारी गरिएको सहकारीका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए। कान्दुमाथि सहकारीको रकम ठगी गरेको उजुरी दर्ता गर्ने तयारी गरेपछि मात्रै सहकारीको रकम हिनामिनाको घटना सार्वजनिक भएको हो। आरोपी कर्मचारी कान्दुले सहकारीमा देखिएको हिनामिना रकम करिब २ करोड रुपैयाँ व्यक्तिगत प्रयोजनमा उपभोग गरेको स्वीकार गरे। यसबाहेक अन्य १० करोड रुपैयाँको खोजीका लागि पुराना श्रेस्ताको पुनः चेक जाँच अघि बढाइएको अध्यक्ष रावलले बताए।
रकम हिनामिना भएको खबरपछि रकम झिक्न सदस्यहरूको भीड लागको छ। रकम झिक्न गएका बचतकर्ता सहकारीले रकम भुक्तानी नदिएपछि निराश भई फर्केका छन्। आफूले करिब ६ लाख रुपैयाँ बचत जम्मा गरेको तर झिक्न जाँदा १ लाख पनि नपाएको कपिलवस्तु नगरपालिका १ का बचतकर्ता रामनाथ गुप्ताले बताए। ‘प्रतिष्ठित सहकारी भनेर विश्वासमा रकम जम्मा गरेँ तर चाहिँदा रकम फिर्ता पाइनँ’, बचतकर्ता गुप्ताले भने, ‘छोरीको विवाहका लागि जुटाएको पैसा अब नपाइने हो कि भन्ने चिन्ता बढ्यो।’
सहकारीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बर्माले सहकारीलाई बैंक सरह सञ्चालनमा ल्याइएको बताए। तर, लेखा प्रणाली भने दुरुस्त नगरिएका कारण यति धेरै हिसाबमा करोडौं रुपैयाँको फरक देखिएको बताए। सहकारीमा आर्थिक वर्ष २०७५÷७६ को लेखा परीक्षण अनुसार ऋण लगानीतर्फ ३ करोड ९ लाख २२ हजार ८ सय ७७ रुपैयाँ फरक देखिएको छ। बचतकर्ताबाट संकलित निक्षेपमा ८ करोड ४० लाख ४० हजार ८ सय ६५ रुपैयाँ फरक देखिएको छ। लेजर हेर्दै नहेरी वासलातअनुसार मात्रै अडिट गरिएका कारण हिनामिना भएकोे प्रमुख कार्यकारी अधिकृत बर्माले बताए। याे समाचार आजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित छ ।
