बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

Investopaper, मंसिर ११, २०७६

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार २०७२ चैतदेखि शुरू गरिएको यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रू. २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । तर, सोही अवधिमा ग्राहकलाई रू. ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको छ ।

संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागिता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत ७ लाख ८५ हजार ६२९ परिवारले दाबी भुक्तानी लिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

सरकारबाट आम नागरिकले स्वास्थ्य बीमा सेवा पाउनु राम्रो भएपनि बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी यसरी बढ्दै गएमा भविष्यमा समस्या आउने विज्ञहरू बताउँछन् । 

बोर्डका अधिकारीहरू स्वास्थ्य बीमाको व्यापक रूपमा विस्तार हुन नसक्दा यस्तो अवस्था आएको बताए । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पनि शुरुआती चरणमा यस्तो अवस्था आउनु स्वाभाविक भएको बताए । उनले भने, ‘तर, यसले कार्यक्रमको स्थायित्वबारे भने प्रश्न उठाएको छ, तर आत्तिहाल्नुपर्ने अवस्था छैन । पछि यसको दायरा बढ्दै गयो भने व्यावसायिक सन्तुलन आउनेछ ।’

स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि बोर्डअन्तर्गत स्वास्थ्य बीमा कोष हुनुपर्ने कानूनी व्यवस्था छ । बीमाशुल्क सहित विभिन्न माध्यमबाट प्राप्त रकम सोही कोषमा नै जम्मा हुनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *