किन गरिमा जातकाे हाइब्रिड धानमा बाला लागेन ? ‘डीएनए’ परीक्षण पछि राज खुल्ने
Investopaper, असाैज १३, २०७६
काठमाडौं : चितवनका किसानले रोपेको धानमा बाला नलागेको विषयमा अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
समितिको प्रारम्भिक प्रतिवेदनमा उक्त बिउ नक्कली भएको हुन सक्ने शंका गरिएको छ। तर नक्कली भए नभएको पुष्टि बिउको डीएनए फिंगर प्रिन्टपछिमात्र पत्तो लाग्नेछ।
पूर्वी चितवनका किसानले खेतमा रोपेको धानमा काट्ने बेला हुँदा पनि बाला लागेन। उनीहरूले विभिन्न सहकारी र बिउ पसलबाट ‘गरिमा’ नामक धानको बिउ खरिद गरेका थिए।
असारको १५ आसपास धान रोपिएको थियो। कतिपयले बाला नलागेपछि धान काटेर अर्को बाली लगाउन थालेका छन्। चितवनका खैरहनी र राप्ती नगरपालिकामा यो समस्या बढी देखिएको छ। राप्ती नगरपालिकाको ६८१ जनाले उजुरी गरेका छन्। झण्डै २१० विघा जमिनमा लगाइएको धानमा यस्तो समस्या देखिएको छ।
के छ सरकारी प्रतिवेदनमा ?
धानमा बाला नलागेको विषय अध्ययन गर्न गठित समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई प्रतिवेदन बुझाएको हो। राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्यीय समिति गठन गरिएको थियो।
‘गरिमा’ जातको हाइब्रिड धान १२० देखि १२५ दिनभित्र पाक्नु पर्ने विशेषता भएको भनिए पनि उक्त अवधिमा बाला नै नलागेको गुनासो आएपछि मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो।
समितिले स्थलगत अनुगमन तथा किसानसँगको अन्तर्क्रियापछि प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा नेपालमा दर्ता गरिएको समयको बिउ र बाली लगाइएको बिउको जातीय विशेषता नै फरक रहेको निष्कर्ष निकालेको छ।
‘दर्ता गर्दाको ‘गरिमा’ जातको हाइब्रिड धान र स्थलगत निरीक्षणमा परीक्षण गरिएको धानको जातीय विशेषता फरक पाइयो’, प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘निरीक्षण गरिएको गरिमा नै नेपाल सरकारले दर्ता गरेको गरिमा जात हो वा हैन भन्ने वैज्ञानिक आधार डीएनए फिंगर प्रिन्टको परीक्षणको रिपोर्ट पछि निर्णय लिन सकिने देखियो।’
बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डीएनए परीक्षणको प्रकृया सुरु गरिसकेको अध्ययन समितिले जनाएको छ।
समितिका सदस्य एवं बाली विज्ञान महाशाखा खुमलटारका वैज्ञानिक सुशीलराज सुवेदीले उक्त धानको बिउ रोपेको ७ दिनमा पात लाग्ने र पात लागेपछि मात्र डीएनए परीक्षण गर्न मिल्ने बताए। ‘त्यसको ३ दिनमा डीएनएको नतिजा आइसक्ने छ’, उनले भने।
कसले भित्र्यायो बिउ ?
नेपालगञ्जका देवानजंग चौधरी म्यानेजिङ डाइरेक्टर रहेको साउथ इस्ट एसियन सीड कम्पनी प्रालिले यो वर्ष गरिमा धानको बिउ नेपाल भित्र्याएको थियो। चितवनमा सुदीप कुमार पाठकले सञ्चालन गरेको प्रशान्त एग्रोभेटले वितरण गरेको थियो।
उक्त एग्रोभेटबाट ९ हजार किलो बिउ चितवनमा र साढे ४ हजार किलो बिउ रौतहट, नवलपरासी, नुवाकोट, लम्जुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको अध्ययन समितिले जनाएको छ। २०७२ सालमा गरिमा हाइब्रिड जातको बिउ पहिलोपटक नेपालमा दर्ता भएको थियो।
यसअघि यही बिएमा समस्या देखिएको थिएन। यो पटक मध्यम खालको बिउ प्याक गरेर किसानलाई वितरण भएको हुन सक्ने समितिको अनुमान छ।
समितिका सदस्य एवं बिउविजन गुणस्तर नियन्त्रण केन्द्रका निमित्त प्रमुख केशव देवकोटाका अनुसार मोर्फोलोपिजकल ट्रेट (जातीय विशेषता) हेर्दा र बाली पाक्ने अवधिको हिसाब गर्दा बाली दर्ता भएको गरिमा अहिलेको हाइब्रिडसँग मेल नखाएको देखिएको छ। दर्ता गरिएको हाइब्रिड जातको धान र स्थलगत निरीक्षण गरिएको गरिमा धानका जातीय विशेषता पनि फरक पाइएको उहाँको भनाई छ।
मन्त्री भन्छन्- कारबाही हुन्छ
प्रतिवेदन बुझिसकेपछि मन्त्री खनालले उक्त धानको बिउ नेपाल सरकारले दर्ता गरेको गरिमा जातको नभएको पाइएमा कानुनी कारबाही गर्ने बताए।
दोषी पाइए किसानलाई क्षतिपूर्ति दिलाई किसान ठग्ने कम्पनीको लाइसेन्स खारेज गर्ने खनालले बताए। डीएनएको रिपोर्ट आएपछि थप कारबाही अघि बढाउने उनले बताए। याे समाचार अन्नपूर्ण दैनिकमा छ ।
