कृषक हाट बजार एप्स संचालन
इन्भेष्टोपेपर । चैत्र २२, २०७७
कृषकले उत्पादन गरेकाे सामान (कृषि उत्पादन) खरिद बिक्री गर्ने अनलाइन माेबाइल एप्स हाट बजार संचालनमा ल्याइएकाे छ । देशको अर्बौँ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको र यहाँकाे उत्पादनले यथाेचित बजार नपाएकाे अवस्थालाई केही भए पनि सुधार गर्न हात हातमा हुने मोबाइल वाट निःशुल्क रूपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप हाट बजार “Hat Bazar” विकास भएकाे हाे ।
यस हाट बजार “Hat Bazar” एप मा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिन्छ ।
यो एपमार्फत किन्ने र बेच्नेहरू नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन देन गर्न सक्छन् । अरू कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपुर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ।
यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफ यमहरू सुन्न र सामाजिक संजालमा पनि शेयर गर्न सकिने जस्ता फिचरहरू राखिएका छन् ।
ट्राभहिल डट कम प्रा. लि. मार्फत ल्याइएको यो एप एन्ड्रोइड र आई ओ एस दुवै प्लेटफर्ममा उपलब्ध भएकोले निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ ।
