डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

इन्भेष्टोपेपर ।  जेष्ठ  २५, २०७७

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ, उहाँले भन्नुभयो । उहाँले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाउनु भएको छ । राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उहाँले यस्तो चेनावनी दिनुभएको हो ।

लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो । डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आउनु भएको छ ।

उहाँको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गर्नुभएको थियो । मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् । लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ ।

पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ । सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो । अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ । (रासस/एएनआई) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *