‘द रक’ले गरे इन्स्टाग्राम मार्फत दोस्रो विवाहकाे घाेषणा
Investopaper, भाद्र ०३, २०७६
‘द रक’ उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन्।
सतचालीस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा विवाहको घोषणा गरेका थिए। सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो।
समाचारहरूका अनुसार ‘द गेम प्लान’ फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो। औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन्।
सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक ‘द रक’लाई हलिउड कलाकारहरूले बधाई दिएका छन्।
लरेन ह्यशिअन सन् ८० को दशकमा प्रसिद्ध गीत ‘मोर द्यान अ फीलिङ्’का लागि चिनिएका अमेरिकी रक ब्यान्ड बोस्टनका गितारवादककी छोरी हुन्। उनी आफू पनि सङ्गीतकर्मी हुन् र उनका केही गीत वेबसाइटहरूमा उपलब्ध छन्।
ड्वेन ‘द रक’ सम्भवतः रेस्लिङ खेलबाट चलचित्रमा आएका सबैभन्दा सफल व्यक्ति हुन्। उनले अभिनय गरेका चलचित्र ‘द ममी रिटर्न्स” र ‘द स्कर्पियन किङ’ उनको ठूलो आकर्षक शरीरमा मात्र केन्द्रित रहेका थिए।
— बीबीसी नेपाली समाचारबाट
