सम्पत्ति शुद्धीकरण सम्वन्धि नेपाली अधिकारीलाइ भारतमा तालिम
Investopaper, भाद्र ०३, २०७६
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रण र कालो धनविरूद्धको अनुसन्धानमा नेपाली निकायहरूको क्षमता अभिवृद्धिका लागि नेपालका २० जना नेपाली अधिकारीहरूलाई भारतमा तालिम सुरू भएको छ।
बिबिसी नेपालीका अनुसार नेपाल सरकारको अनुरोधमा भारतको फरिदाबादस्थित (एनएसीआइएन) भनिने भन्सार, अप्रत्यक्ष कर र लागूऔषधसँग जोडिएको राष्ट्रिय एकेडेमीमा ६० जना नेपाली अधिकारीहरूलाई ६ दिने तालिम सुरू भएको हो।
एनएसीआइएन अवैध धनको कारोबारसहितका वित्तीय अपराध अनुसन्धानको विषयमा तालिम उपलब्ध गराउने भारतको सर्वोच्च संस्था हो।
प्रधानमन्त्री कार्यलयका एक जना अधिकारीले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रण गर्ने निकायको अनुसन्धान क्षमता बलियो बनाउन अहिलेको तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बीबीसीलाई बताएको उल्लेख गरेको छ।
काठमाण्डूस्थित भारतीय दूतावासले एउटा विज्ञप्ती जारी गर्दै सन् २०१९ भित्र नेपालका ६० जना कर्मचारीले यस्तो तालिम लिने जनाएको छ। दोस्रो चरणको तालिम यसै वर्षको अक्टोबरमा र अन्तिम चरणको तालिम डिसेम्बरमा हुने भनिएको छ।
अघिल्लो हप्ता नेपालले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना सार्वजनिक गरेको थियो।
त्यसमा अनुसन्धान तथा नियामक निकायको क्षमता अभिवृद्धि गर्ने र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बाहेक प्रहरीसहित अन्य निकायहरूलाई पनि कालो धनविरूद्धको अनुसन्धानमा परिचालन गर्ने उल्लेख गरिएको छ।
आगामी वर्ष अवैध धनको कारोबार नियन्त्रण र सम्भावित आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको एउटा अन्तराष्ट्रिय निकायले समीक्षा गर्दैछ।
— बीबीसीबाट
