दाजुभाइले एकापसमा लगाए भाइटीका

इन्भेष्टाेपेपर । कार्तिक २६, २०८३

रुपन्देही । तिहारको टीका लगाउन दिदीबहिनी र दाजुभाइ नै आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै दाजुभाइ बीच नै टीका लगाएर रुपन्देहीका दुई बालकहरुले नयाँपन दिएका छन् । 

तिहारलाई दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र आत्मीयताको पर्वको रुपमा लिइन्छ तर, दिदीबहिनी नभएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७, जनकपथ निवासी १२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले विगत पाँच वर्षदेखि एकअर्कालाई भाइटीका लगाउँदै आउनुभएको छ । 

यी दुई दाजुभाइले यो वर्ष पनि एकअर्कालाई भाइटीका लगाएर मनाउनुभएको छ । दिदीबहिनी नभएको कमीले छोराहरूको मनमा खिन्नता नल्याओस् र उनीहरू पनि भाइटीकाको रमाइलोबाट वञ्चित नहोऊन् भन्ने सोचले बुवा सागर पोखरेलले पाँच वर्षअघि यो परम्परा सुरु गरेको बताउनुहुन्छ ।

सागरले भन्नुभयो, ‘हाम्रा दुई छोराले विगत पाँच वर्षदेखि एकअर्कालाई भाइटीका लगाउँदै आएका छन्, दिदीबहिनी नभए पनि भाइले दाइलाई र दाइले भाइलाई टीका लगाउँदा उनीहरूमा दिदीबहिनी नभएको खिन्नता नहोस् भनेर यस्तो परम्परा सुरु गरेका हौँ ।’

दाजु सम्राट र भाइ समृद्धका लागि भाइटीका अब एकअर्काप्रतिको माया र आत्मीयता साट्ने विशेष अवसर बनेको छ । दिदीबहिनी नभए पनि दुईभाइले एकअर्काको निधारमा टीका लगाउँदै पर्वको खुसी बाँड्ने गर्नुभएको छ ।

भाइटीकाको वास्तविक सौन्दर्य केवल परम्परामा मात्र नभई एकअर्काप्रतिको प्रेम, सम्मान र आत्मीयतामा पनि रहेको उनीहरूको यो अभ्यासले झल्काउँछ । दिदीबहिनी नभएका परिवारमा पनि भाइटीकाको खुसी बाँड्न सकिन्छ भन्ने सन्देश दिन यो परम्परा सुरु गरिएको पोखरेल बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *