पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री ओली

इन्भेष्टाेपेपर । फागुन ०९, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । 

हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उहाँले भन्नुभयो, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।”

मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “देश  बनाउनुपर्छ  र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।”
 
बलिदानीपूर्ण कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनासहित सबैका भावनालाई मनमा राखेर हामीले राष्ट्रनिर्माणका काममा अग्रसर हुन जरुरी रहेको संस्थाका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले बताउनुभयो । समाज परिवर्तनका लागि पछौटेपनविरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियताप्रतिको इमान नै सबैभन्दा महत्वपूर्ण हुन्, इमानबाट च्यूत मान्छे अपराधी मात्र हुन्छ ।”

प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने औँल्याउनुभयो । प्रधानमन्त्री ओलीले अप्रत्याशितरुपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा, परोपकार, शान्तिका लागि सधैँ तत्पर र कर्तव्य निष्ठ भई चल्नुपर्छ भन्नुभयो । 
     
अहिले अनुकूलता छ
    
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले अनुकूलता छ, सञ्चार र यातायात, विज्ञान र प्रविधिको हिजोभन्दा आज अत्यन्त छिटो कुनै पनि काम गर्न सक्छौँ, विकासका हिसाबले मुलुक प्रारम्भिक सिँंढीमा छ, अब हामी अघि बढ्नु छ, माथि चढ्नु छ, हाम्रो उद्देश्य एउटै, गन्तव्य एउटै हुनुपर्छ, समृद्ध नेपाल, सुखी नेपाली ।” आधा शताब्दी इतिहास बोकेको राष्ट्रिय सेवा दलको प्रयासको सिलसिला अहिले मुलुकको परम्परा र थिति बनेको बताउँदै उहाँले सेवा दलका योगदानलाई सम्मानपूर्ण ढङ्गले अघि बढाउनुपर्छ भन्नुुभयो ।
 
विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत छात्रछात्रालाई अनुशासित बनाई देश र जनताप्रति बफादार, राष्ट्रिय एकताको भावना विकास, नेतृत्व क्षमता अभिवृद्धि र अनुशासित नागरिक उत्पादन गर्न २०२२ सालमा राष्ट्रिय सेवा दलको गठन गरिएको थियो । प्रधानमन्त्री ओलीले भन्नुुभयो, “सेवा दलबाट प्रदान गरिने सैन्य तालीम भनेको केवल हतियार चलाउन मात्र सिकिने होइन, अनुुशासन, राष्ट्रिय एकता, राष्ट्रिय एकताको भावना सिकाइन्छ, जुन मुुलुुकका लागि निकै महत्वपूर्ण छ, त्यसका लागि संस्थाका विगतका कामको म प्रशंसा गर्न चाहन्छुु ।”
   
संस्थाका प्रमुुख संरक्षक प्रधानमन्त्री ओलीले अनुुशासन, सिलसिला र शृङ्खलाबद्ध शरीर र मनलाई स्वस्थ्य राखेर देश र जनताप्रति समर्पित रहनका लागि क्षमता विकास गर्न प्रदान गरिने तालीमबाट प्राप्त ज्ञानलाई मुलुुकको हितमा कर्मवीरका रुपमा प्रयोग गर्न निर्देशन दिनुुभयो ।

सेवा दलका कामका विभिन्न पाटा र आयाम रहेको हुँदा मूलतः प्राकृतिक विपत्ति परेका बेला जहाँ, जुनसुुकै बेला आफ्ना क्षमता र योगदान प्रस्तुत गर्न सुझाव दिँदै उहाँले भन्नुुभयो,  “आगो, जमीन, हावा र पानीबाट हुने जुनसुकै विपत्मा जनता बचाउने, उद्धार गर्ने, राहत पु¥याउने, राष्ट्रको सम्पदा र सम्पत्तिको रक्षा गर्ने, क्षति हुन नदिने, क्षति भए रोक्न प्रयासमा सेवा दलका प्रशिक्षार्थी सधैँ जुटनुपर्छ ।”

५१ हजार दीक्षित

राष्ट्रलाई आपत्कालीन एवं सङ्कटको अवस्था प्राकृतिक प्रकोप तथा विपत्का बेला उद्धारमा स्वयंसेवक समूहलाई परिचालन गर्ने लक्ष्यका साथ स्थापित उक्त संस्थाबाट हालसम्म ५१ हजार ३३२  छात्रछात्रा दीक्षित भइसकेका छन् ।
      
आर्थिक वर्ष २०७६ । ७७ मा मुलुकका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दलको तालीम सञ्चालन भएको र हाल वार्षिकरुपमा सात हजार ७०० जनालाई तालीम प्रदान गरिँदै आएको बताइएको छ । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेवा दलबाट उत्पादित अनुशासित र बफादार  जनशक्तिलाई आपत्कालीन एवं सङ्कटका अवस्थाबाहेक विकास र समृद्धिका कार्यक्रममा समेत सहयोगी जनशक्तिकारुपमा राज्यले परिचालन गर्न सक्ने बताउनुभयो ।
  
सेवा दलका महानिर्देशक एवं पूर्वरथी रघु भण्डारीले मुलुकको धर्म, संस्कृति, रीतिरिवाज, पहिचान, इतिहास, विभूति एवं वीर पुर्खालाई सहृदय सम्मान गर्ने, राष्ट्रियता, अखण्डता एवं स्वाधीनतालाई प्राण सम्झने तथा नैतिक र राष्ट्रपति समर्पित, अनुशासित र बफादार जनशक्ति तयार गर्ने कार्यलाई संस्थाले शिरमा राखेर काम गरिरहेको बताउनुभयो । 

विद्यमान संरचना र तालीम प्रणालीमा समयसापेक्ष सुधार ल्याउन, सरोकार पक्षबीच समन्वय र सहकार्य विस्तार गर्न, सेवा दलप्रतिको लगावमा पुनःताजगीकरण गर्न, विद्यमान ऐन, कानूनलाई समयसापेक्ष तुल्याउन र संस्थाको भूमिका स्पष्ट गर्न तथा सुदृढीकरण गर्न गोष्ठी आयोजना गरिएको जनाइएको छ । 

सरकारले मुलुकले विभिन्न समयमा भोग्नुपर्ने प्रकोपका घटनापछि जनधनको क्षति कम गर्ने उद्देश्यले प्रत्येक जिल्लामा न्यूनतम १०० जना जनशक्ति तयारी अवस्थामा राख्न उपयुक्त हुने ठहर्याई ती जनशक्तिलाई समेत समेट्ने गरी पाठ्यक्रम बनाउन निर्देशन भएबमोजिम उक्त तालीमलाई परिमार्जन गर्न लागिएको बताइएको छ । 

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मूल आदर्श लिएर लिएर क्रियाशील उक्त संस्थाका हाल ५९ जिल्लामा कार्यसमिति विस्तार भएको छ । सबै प्रदेश र काठमाडाैँ उपत्यकामा पनि सङ्गठनको कार्यसमिति छ । गोष्ठीमा जिल्ला कार्यसमितिका पदाधिकारी, सेवा दलका पूर्वसल्लाहकारको समेत सहभागिता छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *