बाजुरामा स्याउ १ रुपैयाँमा ३ दानाः बजारीकरणमा कसैले सहयाेग नगरेकाे कृषक गुनासाे

Investopaper, भाद्र २२, २०७६

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ।

उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’

लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’

गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन्।

गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन्। प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन्। स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ।

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन। तर बजारसम्म पहुँच पुर्‍याउन कुनै निकायले पनि सहयोग नगरेको गुनासो किसानको छ।

जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ। ‘एक रुपैयाँमा एक दाना त कोही किन्दैन। १५ रुपैयाँ किलो त महँगो भयो नि। ४/५ दानामा किलो भइहाल्छ’, किसान गजुर शाहीले भने।

किसानले वर्ष दिनमै फल दिने कल्मी स्याउ लगाएका छन्। ‘सानो बोटमा पनि लटरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा सडक नपुग्दा किसान निराश छन्’, गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने। बजारसम्म स्याउ पुर्‍याउन गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरिरहेको उनले बताए।

ढुवानीमा गाउँपालिकाको अनुदान

स्याउले बजार नपाएपछि जिल्ला कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने भएको छ। केन्द्रले ढुवानी अनुदानका लागि सूचना प्रकाशित गरेको छ। केन्द्रले बारीबाट बजारसम्म पुर्‍याइदिनेछ। स्याउ बिक्री भने किसान आफैंले गर्नुपर्ने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए। जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ। मार्तडी-कोल्टी सडक सञ्चालन नभए ढुवानीमा समस्या हुने जैशीले बताए। जिल्ला सदरमुकाम मार्तडी र आसपासका बजारमा भने स्याउ प्रतिकिलो १ सय ५० देखि दुई सयसम्म बिक्री हुँदै आएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा दुई सय ३० हेक्टरमा स्याउ खेती गरिएको छ। जिल्लामा गत वर्ष एक हजार ५० मेट्रिन टन स्याउ उत्पादन भएको थियो। यस वर्ष बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन वृद्धि हुने अनुमान छ। याे समाचार अाजकाे अन्नपूर्ण पाेष्टमा पदम सिंहले लेखेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *