मेलम्चीका चारओटै गेटमा गम्भीर त्रुटि

इन्भेष्टोपेपर ।  श्रायण १६, २०७७ 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको १७ नम्बर (अम्बाथान) गेटमा प्राविधिक र मानवीय लापरबाहीका कारण गम्भीर त्रुटि हुँदा सुरुङमार्गमा पानी परीक्षण गर्ने क्रममा दुर्घटना भएको ठहर गरिएको छ । यो समस्या उक्त गेटमा मात्र नभई अन्य ३ स्थान ग्याल्थुङ, सिन्धु र सुन्दरीजलमा रहेका गेटमा पनि देखिएको आयोजनाले जानकारी दिएको छ ।

गेटमा त्रुटि भएकै कारण गत असार २१ गते सुरुङमार्गमा पानी पथान्तरण गरी परिक्षण गरेको ९ दिनमै गेटका नटबोल्ट खुलेपछि मानवीय र भौतिक क्षति भएको थियो । आयोजनाका एक अधिकारीका अनुसार यो समस्या आएपछि गेटको डिजाइन र निर्माण गर्ने भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडलाई स्पष्टीकरण सोधिएको थियो । कम्पनीले सुरुङको गेट निर्माणमा गल्ती भएको स्वीकार गरेको ती अधिकारीले बताए । ‘कम्पनीका प्रमुखले भित्र खुल्नेगरी डिजाइन बनाइए पनि पछि बाहिर राखिएको तर बन्दाबन्दीका कारण त्यसमा पर्याप्त ध्यान दिन र सूचना आदानप्रदानमा समस्या हुँदा यस्तो भएको जानकारी गराएको छ,’ उनले बताए ।

१७ नम्बर गेटमा देखिएको जस्तै समस्या अन्य गेटमा भएकाले बाहिर खुल्ने गेटलाई भित्र राखेर काम गर्नेगरी रिकभरी प्लान बनाइएको उनको भनाइ छ । गेट खुल्दा मानवीय क्षतिसमेत भएपछि खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले समेत शुरूको डिजाइन नै परिर्वतन तथा संशोधन गरेर सजिलोका लागि बाहिरबाट खुल्ने गेट बनाउँदा गम्भीर दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

प्राविधिक रूपमा त्रुटि देखिनुका साथै भारतीय कम्पनीले समेत बाहिर बनाएका संरचनाका विषयमा जानकारी नदिँदा मानवीय त्रुटिसमेत भएको देखिएको छ । समस्या आएको गेट मुहानभन्दा ९०० मिटर तलको मुख्य सुरुङमार्गमा छिर्ने प्रवेशमार्गमा छ । बिग्रिएको गेटमा स–साना सवारीसाधन लिएर नै तल्लो भाग  ग्याल्थुङमा जान सकिन्छ । यो क्षेत्र मुख्य सुरुङमार्गको पानी बग्ने स्थान हो ।

अहिले समस्या भएको गेट ५/१० वर्षभित्र सुरुङमार्गमा कुनै समस्या भएमा त्यसको मर्मतसम्भारका लागि सहज होस् भनी साना सवारी भित्र जान सक्ने गरी बनाइएको थियो । अरू बेला बन्द हुनेछ । २६ किलोमिटर लामो सुरुङमार्गमध्येकै होचो स्थानमा यो गेट पर्छ । त्यसको दुवैतिर पानीको सतह बढ्दै गएपछि त्यसमा दबाब बढ्दै गएर प्रेसर थेग्न नसक्दा पानी ह्वात्तै आई दुर्घटना भएको संयोजक दुवाडीले जानकारी दिए ।

‘गेट भित्र खुल्नेगरी पहिला डिजाइन गरिएको थियो, भित्र खुल्दा गेट फेल हुने अवस्था हुँदैनथ्यो, किनभने अन्य सहायक संरचना बलियो हुँदा नटबोल्टको खासै काम नआउने भएकाले पानीको प्रेसर नटबोल्टमा पर्दैनथ्यो’, दुवाडीले बताए, ‘डिजाइन नै परिवर्तन गरिएको भए पनि त्यसबाट हुने क्षतिको आकलनमा सबै पक्ष चुकेको देखिन्छ ।’

आयोजनाका साथै सम्बन्धित परामर्शदाता र निर्माण कम्पनीले पहिलाको डिजाइन संशोधन गरेको भए पनि जोखिम आकलन गर्न असमर्थ भएको पाइएको छ । ‘बाहिरबाट गेट खुल्नै नहुने भनिएको होइन, तर भित्रकोलाई बाहिर मात्रै पारियो त्यसलाई मजबूत र सुरक्षित पार्न सकिएन र त्यसबाट पर्ने जोखिम आकलन गरिएन,’ उनले बताए ।

यस क्षेत्रमा पानीको प्रेसर अधिकतम ५२ मिटर बराबर हुुन्छ । तर, परीक्षणमा १६ मिटर बराबरकै पानीको प्रेसर धान्न नसकेर नटबोल्ट फुस्किएको छ । उनले अहिले समस्या भएको गेटमा मात्रै परीक्षण गरिएको बताए । पानी परीक्षण नगरिएका अन्य तीनओटा गेटमा सुरक्षा र जोखिम पहिचान नगरी पानी परीक्षण नगर्न सुझाव दिएको दुवाडीले बताए ।

समितिले तुरुन्त डिजाइन संशोधन गर्न सुझाव दिएको छ । गेट बाहिर खुल्ने हो भने पनि त्यही अनुसार डिजाइन पुनरवलोकन गरेर डिजाइन बनाउन, अहिलेको कमी कमजोरी सुधार गरी जोखिमरहित निर्माण गर्न समितिले सुझाव दिएको छ । समितिले रिमोटमार्फत परीक्षण गरेमा मानवीय जोखिम कम गर्न सकिने भएकाले त्यसो गर्न पनि सुझाव दिएको छ । आर्थिक अभियान दैनिकबाट 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *