राष्ट्र वैंकले हतारमा जारिगरेकाे उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Investopaper, श्रावण २९, २०७६
सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेरमा हदबन्दी लगाउने नेपाल राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेरहद तोकेपछि त्यसविरुद्ध प्राइम कमर्शियल बैंकका सीईओ नारायणदास मानन्धरले साउन २२ गते उक्त व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै मानन्धरलाई यथास्थानमा कामकाज गर्न दिन पनि केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार न्यूनतम २५ वर्षको सीमा तोकेको तर अधिकतम उमेरको सीमा नतोकेको भन्दै उक्त व्यवस्थालाई हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
अब उमेर हद सम्वन्धि व्यवस्था नेपाल राष्ट्र बैंकले बाफिया एैनमा नै संशाेधन गर्नु पर्ने छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार केन्द्रीय बैंकले उमेर हदसम्बन्धी नयाँ व्यवस्था गरेको भएता पनि सो ऐनमा उमेर हद तोक्ने अधिकार राष्ट्र बैंकलाई नभएको सर्वोच्चले बताएको छ ।


