लापरवाहीका कारण धनुषामा मानवीय क्षति

Investopaper, मंसिर २८,२०७६

काठमाडौँ- धनुषा जिल्लामा गएराति भएको बम विस्फोटमा लापरवाहीका कारण एक प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान गुमेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।

क्षिरेश्वर नगरपालिका वडा नम्बर ५ मा भएको उक्त घटनामा घर धनी राजेश साह, उनका १७ वर्षीय छोरा अनन्त र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर दाहालको मृत्यु भएको छ।मृतक राजेश साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन्।

बमको जानकारी फोनबाट

राती करिब पौने १२ बजे साहको घरको दोस्रो मुख्य ढोकामा झुण्ड्याइएको शक्तिशाली प्रेसर कुकर बम विष्फोट भएको थियो।सडकसँग जोडिएको मुख्य ढोकाभित्र रहेको घरको दोस्रो मुख्य ढोकामा रातो झोलामा बम झुण्ड्याइएको थियो। ढोकामा बम राखिएको जानकारी मृतक राजेश साहलाई टेलिफोनबाट दिइएको र त्यसपछि अर्कै ढोकाबाट निस्केर परिवारका सम्पूर्ण सदस्यहरू सहित उनी करिब तीन सय मिटर टाढा रहेको भाइ राजकुमारको घरमा पुगेको बताइएको छ।

केही स्थानीय बसिन्दाले उक्त जानकारी दिएका हुन्। प्रहरीले भने बम राखेको खबर टेलिफोनबाट दिइएको पुष्टि गरेको छैन।हाल रोजगारीको निम्ति मलेसियामा रहेका भाइको घरबाटै उनीहरूले प्रहरीलाई खबर गरेको बताइएको छ।

क्षतिको कारण-असावधानी

बम राखिएको सूचना पाएपछि प्रहरी निरीक्षक दाहाल सहितको टोली राजकुमारको घर पुग्यो। त्यसपछि राजेश साहको सबै परिवार प्रहरीसँगै घर फर्कियो।

झोलामा राखिएको प्रेसर कुकर देखेपनि प्रहरी निरीक्षक दाहालले तर्साउन मात्र राखेको हुनसक्ने अनुमान गरेको प्रहरी बताउँछ।बम राखिएको ढोका नजिकै तीनजना मृतक र घाइते अञ्जली, प्रकाश, प्रहरी जवान महतो थिए। झोला हटाउने प्रयास गर्दा भएको ठूलो विस्फोट भयो।राजेश र छोरा अनन्तको घटनास्थलमै मृत्यु भएको र प्रहरी निरीक्षक दाहालको उपचारका लागि धरान लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनास्थलमा रहेका प्रहरी र स्थानीय बासिन्दाले असावधानीका कारण मानवीय क्षति भएको बताएका छन्।मृतक अनन्त कक्षा १० पढ्थे भने उनका घाइते भाइ प्रकाश कक्षा ८ मा पढ्छन्।

‘प्रहरी घटनाक्रम दोषी नजिक’

विस्फोटका कारण पाँच मिटर वरिपरिको पर्खाल चर्किएको छ। प्रेसर कुकरभित्रका छर्राहरूले घरका भित्तामा गोली लागेको जस्तो दाग बनेको छ।रातिदेखि नै स्थानीय बासिन्दा र प्रहरीको घटनास्थलमा भीड लागेको छ।राजेश साह पेशाले औषधि व्यवसायी हुन्। तर उनले ब्याजमा ऋण लगानी गर्ने गरेको बताइएको छ।बम विस्फोटको सम्बन्ध त्यो सँग भए-नभएकोबारे पनि प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ।”घटनामा संलग्न दोषीहरूबारे अनुमान गरिएको छ”, अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने, “रातिदेखि नै विभिन्न स्थानमा छापा मारिएको छ।”धनुषाका प्रहरी प्रमुख शेखर खनालका अनुसार घटनाको अनुसन्धान र संदिग्ध व्यक्तिहरुको खोजीमा व्यापक प्रहरी परिचालन गरिएको छ।

-वीवीसी नेपाली-

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *