सूर्य ग्रहणकाे धार्मिक तथा वैज्ञानिक मान्यताः कुन राशिले हेर्न हुने, कसरी हेर्ने ?
Investopaper, पौष ९, २०७६
भाेली विहीबार (पाैष १०, २०७६) सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिनेछ ।
यस ग्रहणलाई मलेसिया, सिंगापुर, श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउँहरुबाट वलय सूर्यग्रहण देख्न सकिन्छ ।
जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिन्छ ।
सूर्यग्रहण नेपालमा विहान ८ बजेर ४३ मिनेटबाट शुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । विहानको १० बजेर २ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीब ३७ प्रतिशत ढाकेको देख्दछौं भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् ।
सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।
यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो ।
धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी सुद्द हुने गर्दछन् ।
तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।
