सिँचाइ कुलो सम्पन्न, ८१ हेक्टरमा सिँचाइ सुविधा विस्तार

इन्भेष्टोपेपर । भाद्र ३०, २०७७

भोजपुर । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ ।

कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो ।

“पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडालगायत स्थानका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ । सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन् । स्थानीय कृषक कल्पना भण्डारीले भनिन्, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ ।”

निर्माणका लागि जनश्रमदानवापत स्थानीयवासीले पनि योगदान गरेका छन् । कुलोलाई स्थानीयवासीले समय–समयमा सरसफाइ गर्दै आएका छन् । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने उनीहरुको भनाइ छ । स्थानीय दिलबहादुर बानियाँले भने, “हाम्रो क्षेत्र कृषिका लागि निकै उर्वरभूमि हो, तर सिँचाइ नहुँदा असाध्यै समस्या थियो, यो कुलो बनेसँगै हामीमा उत्साह थपिएको छ, अब उत्पादन वृद्धि हुनेमा हामी आशावादी छौँ ।”

भोजपुर नगरपालिका–८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ल्याइएको हो । कुलो निर्माण स्वामीनारायण निर्माण सेवाले गरेको हो । धेरै महत्व बोकेको कुलो रहेकाले कार्यालयले प्राथमिकताका साथ काम अगाडि बढाएर समयमै सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *