भारतले दिएकाे कोरोनाविरुद्धकाे १० लाख डाेज खोप नेपाल आइपुग्याे

इन्भेष्टाेपेपर । माघ ०८, २०७७

काठमाडाैँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप  नेपाल आइपुगेको छ ।  नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । 

‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै  खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ ।

भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।

उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले  प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो ।

सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ ।

सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *