शुक्रबारदेखि आइतबारसम्म देशभर मुसलधारे वर्षाको सम्भावना, ४२ जिल्ला जाेखिम सूचिमा
इन्भेष्टाेपेपर । आश्विन ६, २०८३
काठमाण्डौ । आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सार्वजनिक गरेको विशेष मौसमी बुलेटिनअनुसार ४२ जिल्लामा बाढी पहिरोको जोखिम धेरै छ । कोशी प्रदेशको इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु तथा बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ र चितवनमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै गण्डकी प्रदेशसको नवलपरासी पूर्व, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रुकुम पूर्वमा बढी जोखिम छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, डोल्पा, हुम्ला र मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ र दार्चुलामा बढी जोखिम रहेको महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा विकसित पानी पार्ने प्रणालीको प्रभाव भोलि बुधबारदेखि देखिन सक्ने मौसमविदको अनुमान छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ । शुक्रबारदेखि तीन दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढीबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्काउन अनुरोध गरेको छ ।
