नेपाल टेलिकमद्वारा भीओएलटीई सेवाको परीक्षण शुरु
इन्भेष्टोपेपर । जेष्ठ ३, २०७८
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भीओ) एलटीई सेवाको परीक्षण शुरु गरेको छ ।
टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै सोमवारदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयाे।
उहाँका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।
सो सेवाका लागि भीओएलटीई सपोर्ट गर्ने मोबाइलमा *४४४# डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्न सकिनेछ ।
यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको सङ्केत देखापर्दछ । भीओएलटीईको सङ्केत देखापरेपछि *१११# डायल गर्नुपर्दछ ।
भीओएलटीई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने १०० मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ ।
आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/ गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ । रासस
