आधुनिक कृषिका लागि दीर्घकालीन योजना आवश्यक

इन्भेष्टोपेपर । असार ५, २०७

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिको आधुनिकीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभएको छ । सानोतिनो योजनाले कृषिलाई आधुनिकीकरण गर्न नसकिने बताउँदै उहाँले त्यसका लागि दीर्घकालीन योजना तथा नीति बनाएर नै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कृषि विभाग तथा नेपाल कृषि महासङ्घको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण’सम्बन्धी राष्ट्रिय सम्मेलनलाई शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले कृषिको समग्र विकासका लागि किसान सूचीकरणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म किसानको पहिचान हुँदैन तबसम्म कृषिको विकास सम्भव छैन । त्यसैले कृषिका लागि किसान सूचीकरणको काम चाँडै सकिनु पर्नेछ । ”

कृषिका धेरै कुरामा नेपाल आत्मनिर्भर नजिक रहेकाले अझै केही मेहनत गरे चाँडै नै आत्मनिर्भरको लक्ष्य पूरा गर्न सकिने उहाँले बताउनुभयो । भूउपयोग नीतिलाई कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री साहले खण्डीकरण गर्ने कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले अर्बन एग्रिकल्चरमा पनि फोकस हुनुपर्ने सुझाव दिनुभयो । उर्वर भूमि उपत्यका, पोखरा, दाङलगायतका सहर बनिसकेको अवस्थामा अब ‘अर्बन एग्रिकल्चर’तर्फ लैजान आयोजकलाई सुझाव दिँदै ओलीले जल, जमिन, जङगल, जलवायु, जडिवुटी, जनशक्ति, जराजुरी, जनावर, प्रोटेक्सन गर्दै लैजान सकेमा पक्कै पनि कृषिमा आधुनिकीकरण हुँदै जाने बताउनुभयो ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले नेपालको कृषि उत्पादन सन्तोषजनक रहेको दाबी गर्दै केही वर्षमै देश आत्मनिर्भर हुने बताउनुभयो । उहाँले नेपालीले खाने बानी सुधार गर्नुपर्ने बताउनुभयो । खाने बानी सुधार गरे भने अहिलेकै अवस्थामा आत्मनिर्भर हुनसक्छ भन्नुहुँदै उहाँले भन्नुभयो, “१० वर्ष पहिले कालीमाटी तरकारी बजारमा १० प्रतिशत मात्र नेपाली तरकारी हुन्थ्यो तर अहिले १० प्रतिशत विदेशी तरकारी हुन्छ । त्यसैले अनुमान गर्न सकिन्छ कि नेपालमा उत्पादनको वृद्धिको रफ्तार तीव्र रहेको छ । ”

पशुपन्छीतर्फका निमित्त सचिव डा. विमलकुमार निर्मलले किसानलाई राम्रोसँग केही दिन नसकेकामा आफू दुखित भएको बताउनुभयो ।

लाइभस्टकमा भ्याक्सिन, ब्रिडिङ, फिड आयातको समस्या एकदमै धेरै भएको हुँदा कृषि तथा पशुपन्छी क्षेत्रमा चार–पाँचवटा क्षेत्रमा काम गर्ने हो भने किसान त्यसै खुसी हुने उहाँले बताउनुभयो । निमित्त सचिव डा. निर्मलले कृषिमा श्रमिक कति छन् ? मेकनाइजेसन र मोर्डनाइजेसन गर्ने कुरामा उपयोगी बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषि र पशुको कुरा मात्रै होइन भूमिको व्यवस्था गरी अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । खण्डहर बन्दै गरेको अवस्थामा कृषि भूमिलाई उपयोग गर्नुपर्ने बताउँदै उहाँले नदी कटान दिनानुदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । सरकारी, निजी, पर्ती जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

त्यसैगरी कृषि वन विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपाल एकदमै जोखिम अवस्थामा भएको बताउनुभयो । वातावरणीय प्रभावले पनि कृषिको आधुनिकीकरणका लागि बाधक हुने बताउँदै उहाँले ठूलो सङ्ख्यामा साना किसान छन्, त्यसकारण उत्पादनका आधारमा किसानको वर्गीकरण गरिनुपर्ने बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *