कविता : राष्ट्रिय आपदा

— अर्जुन कुमार न्याैपाने (एकेएन गाेगने)

छन्दः शार्दूलविक्रीडित

कत्रो दुख्ख गरेर हर्षित भई बाली लगाए बरा !
पापी मौसम बर्सियो जल बनी आश्चर्य मान्छिन् धरा ।।
अग्ला वृक्ष चरा बुटा नजिकका साक्षी बने दर्शक ।
पार्यो धान सबै विनाश बिचरा ! रुन्छन् सबै कृषक ।।

झापादेखि हुँदै उता पर पुगी छोई सबै बाजुरा ।
खायो निष्ठुर मौसमी असुरले सत्कर्मका आँकुरा ।।
धेरै आस थिए डढे अब सबै लाग्दैन केही हक ।
पार्यो धान सबै विनाश बिचरा ! रुन्छन् सबै कृषक ।।

साउँब्याज छ तिर्न साहु कति छन् फर्स्याउने के गरी ?
भाँडो रुन्छ कठैबरी ! मरिमरी भर्स्याउने के गरी ?
छोरीको फिस तिर्नुपर्छ नतिरे छुट्ला सुनौलो हक ।
पार्यो धान सबै विनाश बिचरा ! रुन्छन् सबै कृषक ।।

पाँजा सोत्तर छन् सबै जमिनमा बाला त्यहीँ टाँसिए ।
आनन्दी व्यवहारका सुनहला इच्छा सबै मासिए ।।
राख्लान् के अब बीज रोप्न गतिलो सैर्जन्यको द्योतक ?
पार्यो धान सबै विनाश बिचरा ! रुन्छन् सबै कृषक ।।

गाईबस्तु रुने भए अब कहाँ खोजौं पराले खर ?
भन्छन् वक्ष निमोठिंदा कृषकले हाम्रो कहाँ के छ र ?
लोखर्केसित शीतयुद्ध नहुँदा हाँस्ने भए मूषक ।
पार्यो धान सबै विनाश बिचरा ! रुन्छन् सबै कृषक ।।



Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *