साप्ताहिक कृषि कर्म तथा माैसमी सारांश

इन्भेष्टोपेपर । कार्तिक ६, २०७८

नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै पनि हामी कृषिमा नयाँ प्रविधिकाे प्रयाग गरेर समुिचत लाभ लिन सकिरहेका छैनाै । समस्त कृषकसामु न त मनग्गे सेवा सुविधा पुगेकाे छ न त लगानी ।

कृषि कर्ममा अग्रिम जानकारी भयाे भने मात्र सहि समयमा सहि निर्णय गर्न सकिन्छ र जाेखिम न्यनिकरण हुन्छ । समस्त कृषककाे हितकाे लागि कृषि विभागद्वारा नियमित प्रकाशन गरिने कृषि सल्लाह बुलेटिनलाइ साभार प्रकाशित गरिएकाे छ । (अवधि: ५-११ कात्तिक, २०७८)

मौसमी सारांश:

गत साता देशका धेरैजसो जिल्लाहरुमा १०० मि.मि. भन्दा बढी बर्षा मापन भएको छ भने सुदूरपश्चिम प्रदेशको अधिकांश जिल्लाहरुमा २०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। तराईका सबै स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र केही स्थानहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ।

साताको शुरु र मध्यमा देशैभरका हिमाली भू-भागहरूमा हल्का हिमपात र पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ। तराई भू-भागमा साताको शुरुमा आंशिक बदली रहे पनि साताको मध्य र अन्त्यमा सामान्यतया सफा देखि आंशिक बदली रहने सम्भावना छ।

प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई भू-भागमा साताको शुरूमा हल्का वर्षाको सम्भावना छ। देशका अधिकांश भू-भागहरुमा अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना देखिन्छ।

कृषि सारांश

• गत साताको हावाहुरी र भारी वर्षाका कारण धानबालीमा भएको क्षति न्यूनीकरण गर्न धान खेतबाट पानीको राम्रोसँग निकास गरि काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै-आली, कान्लामा सुकाउनुहोस्। भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला-बेलामा धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस्।

• साताको शुरुमा हल्का वर्षाको सम्भावना भएकोले काट्न बाँकी रहेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको ३-४ दिनपछि मात्र काट्न शुरु गर्नुहोस्।

• धानको बीउ छनोटको लागि नलडेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।

• धानबालीमा पतेरो कीराको प्रकोप देखिएमा प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।

• मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात: लुम्ले -१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातहरुलाई बेभिष्टिन २ ग्राम प्रति के.जी. का दरले उपचार गरी लगाउनुहोस्।

• यस समयमा केरामा गबारो कीरा लाग्न सक्ने भएकोले नियमित अनुगमन गर्नुहोस्। गवारो देखिएमा बगैँचाको सर-सफाई गर्ने, घारि काटिसकेपछिका ठुटाहरुलाई नष्ट गर्ने वा बोटको कापमा वा गुवोमा क्लोरपाइरीफस (4% GR) ३० ग्राम राख्नुहोस्।

• यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।

• मध्यपहाडको बारीमा लगाएको आलुमा पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्।

• हिउँदे तरकारीहरुको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरि १ भाग फर्मालिन ५० भाग पानीमा घोली जमिन भिज्नेगरि हालेर प्लास्टिकले ७ दिनसम्म ढाकी माटो उल्टाई पल्टाई गर्नुहोस्।

• २०-२५ दिन पुगेको खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको तयारी बिरुवाहरु साँझपख सार्नुहोस्।

• मध्यपहाडी भेगमा बेमौसमी बकुल्ला सिमी लगाउनुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।

• मिनो अर्ली र प्यूठाने रातो जातको मूला रोप्नुहोस्।

• भर्खर जन्मिएका बाच्छा/बाच्छीहरुमा पिंक आई रोग देखिने सक्ने अनुकुल मौसम भएकोले, यो रोग देखा परेमा उमालेको पानीमा १% बोरिक एसिडको झोल बनाई तीन-तीन घन्टाको फरकमा आँखा सफा गर्नुहोस्।

• यो समयमा परेको पानीले ट्राउट माछामा पातलो पहेँलो दिसा (कक्सिडियोसिस रोग) देखिन सक्ने हुँदा दानामा टोल्ट्राजुरिल १५ मिलिग्राम प्रति के.जी. माछाका दरले भटमासको तेल (०.७% प्रति के.जी. दाना) मा मिसाई खुवाउनुहोस्। पहेंलो दिसासँगै रगत पनि मिसिएको देखिएमा भिटामिन के १०० मिलिग्राम प्रति के.जी. दानामा थप गरि ७ दिनसम्म दिनुहोस्।

• पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।

• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *