कविता : पत्नी – महिमा

— कृष्णशरण उपाध्याय पौडेल

छन्द — उपजाति

रहस्य को बात म भन्छु आज
पत्नीहरू हुन् घर का जहाज
उडाइदिन्छन् पति का कुरा ती
बनाइदिन्छन् पति च्याँखुरा ती

आमा न ठूली न त बाबु ठूला
दीदी न ठूली न त दाजु ठूला
न चन्द्र ठूला दुलही समक्ष
न इन्द्र ठूला दुलही समक्ष

व्यक्तित्वशाली पति होस् त के भो ?
नेतृत्वशाली पति होस् त के भो ?
ऊ बन्छ मूसो दुलही समक्ष
अचम्म लूसो दुलही समक्ष

विद्वान् यशस्वी पति होस् त के भो ?
महान् तपस्वी पति होस् त के भो ?
ऊ बन्छ लद्दू दुलही अगाडि
हुस्सू र बुद्धू दुलही अगाडि

पत्नी विना जीवन नृत्य हुन्न
उनी विना धार्मिक कृत्य हुन्न
ती स्वामिनी हुन् घर की धुरी हुन्
कैलाश काशी अमरापुरी हुन्

पत्नी रिसाएर अशान्ति हुन्छ
पत्नी खुशाए घर शान्ति हुन्छ
होलिन् खुशी ती जुन काम बाट
अवश्य खुल्ला पति को ललाट

पत्नी भएमा घर तामझाम
उनी विना को कुन हुन्छ काम ?
पत्नी विना का पति जो जहाँ छन्
जप्नू बसी केवल राम राम

तसर्थ पत्नी खुश पार्नु पर्छ
ल्याएर साडी रिस मार्नु पर्छ
एस्तो गरे मा शनि राहु भाग्छन्
ती भाग्यमानी बल बाहु जाग्छन्

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *