कविता : कृष्ण र कंस

— विष्णुहरि पौडेल

(छन्द: मन्दाक्रान्ता)

हेर्दा ज्ञानी असल र गुणी छन् कसैका व्यहोरा ।
कोही साह्रै अधम र छुचा कंसका हुन् कि छोरा ?
जाती क्वै छन् अधम घटिया,जातको खेल हैन ।
मामा भञ्जा फरक मतिका,कृष्ण झैं कंश छैन ?
***
हुन्नन् कोही दलित,छ भने चित्त संस्कार शुध्द ।
उच्चा नै होस् थर किन यसै बन्न सक्तैन बुध्द ?
सत् दीक्षा आचरण मनितो हुन्छ के हो र बंश ?
संस्कारीमा मति विमलता खुल्छ शालीन हंस ।।
***
आँक्नै गाह्रो अकुत छ सुधी भौतिकी देहभित्र ।
सक्ला के स्थूल प्रविधि झिकी खिच्न विज्ञान चित्र ?
मान्छन् आध्यात्मिक विवुधले पूर्वको जन्म कर्म ।
कान्छो विज्ञान छ चुरिफुरी भेट्न सक्तैन मर्म ।।
***
हेर्दा राम्रा युवक युवती छन् कुनै रूप रानी ।
काला,गोरा,ढप अलग छन् क्वै छ ढब्बे,मदानी ।
खालान् धेरै तर नि तिनमा प्राण एकै मुठी छ ।
मान्छे नै हुन् पृथक प्रतिभा,चित्त,बेग्लै खुबी छ ।।
***
तग्दैनन् ती महल धनका नोटका स्याउलाका
मर्छन् कोही तर अमर छन् कीर्ति राख्ने पताका ।
जन्मन्छन् क्वै धनिक घर क्वै रंकका खोखबाट ।
गर्छन् ज्यादै मिहिनत कुनै तोड्न प्रारब्धवाद ।।
***
नामी बन्ने रहर चुलिए कर्मको मार्ग रोजौं ।
ज्ञानी बन्ने लहड छ भने धर्मको साथ खोजौं ।
साँच्चै सङ्लो नियत छ भने खोट आएर छुन्न
हामीभित्रै सुख र शिव छन् जातमा खोज्न हुन्न ।।
***
(२०७७ श्रावण-२, काठमाडौं)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *