आइन्स्टाइनको पाण्डुलिपि १ करोड ३० लाख डलरमा बिक्री
इन्भेष्टोपेपर । मंसिर ८, २०७८
काठमाण्डौ । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ ।
यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ ।
सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए । यी कागजात पनि बेसोले नै राखेका थिए । क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोंचको तारिफ गरेको छ ।
— एजेन्सीकाे सहयाेगमा
