विवेकशील साझाले शनिबार ललितपुरमा बृहत् आमसभा गर्दै

इन्भेष्टोपेपर । मंसिर १७, २०७८

काठमाडौँ । विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको छ । 
विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयाे । 

कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरु गरेको छ । 

शनिवार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ । पार्टीले अध्यक्ष मिश्रको विचारभन्दा माथि देश दस्ताबेज पारित गरेसँगै स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्ने एजेन्डालाई अंगिकार गरेको छ ।

साथै पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत सङ्गठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम लिएर अघि बढेको छ । शनिवार गरिने एकीकरण घोषणा सभालाई पार्टीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेको छ । एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता पाठकको भनाइ छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *