लघु कथा : कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?
— अज्ञात मित्र
अर्बपति छन मेरो बा का दाजुभाई, दरबारजस्तै भव्य बङ्गलामा सुनकाे जलप लगाइएको मार्बलले बनेकाे डाइनिङ टेबलमा उनिहरु बसिरहेका थिए ।
नुन नहाली पकाएको टुसादार चना र चिनी नहालेकाे चिया ल्याएर कामदारले अगाडि राखिदियाे । चिया सुरुप्प पारे । एकछिन पछि, नुन नहाली पकाएको भिण्डीकाे तरकारी, घिउ नदली पकाएका २ सुख्खाराेटी र ताताेपानी खाए ।
नुन कम खानुपर्ने, गुलियो खान नहुने, याे नखाने त्याे नखाने, अनेक पथ्य-परहेज थिए ।
कराेडाैँ रुपियाँ खर्चेर बनाएको घर थियाे । दर्जनौं नाेकरचाकर सेवामा थिए । १२/१५ वटा एसी चलिरहेकाे घ्वाँघ्वाँ आवाज । पार्किङमा रहेका अनेक ब्रान्डका गाडीहरू स्टार्ट गर्दाकाे आवाज ।
यस्ताे माहाैलमा मेरा बा का दाजुभाई नास्ता गरिरहेका थिए ।
यता,
गैरीखेतकाे आलीमा खाेलाकाे सिरसिर हावा खाँदै हँसिलो स्वभावका मेरा बा बसिरहेका थिए ।
सिलाैटामा लसलस पिसेर हालेकाे मसलाले मिट्ठाे बनाएकाे आलुचनाकाे चाेपिलाे झाेल । करेला र भिण्डी मिसेर चरचर तेलमा भुटेकाे मी$$$ठाे तरकारी ।
मूलबाट सिलटकाे ठेकीमा भर्खर भरेर ल्याएको चिसाे मिठाे कञ्चन पानी । हरररर बास्ना आउने जेठाेबुढाे चामलकाे भातमाथि लैनाे भैँसीकाे घिउ । सिलाैटामा पिसेकाे मरहठी र टिम्बुरकाे मिठाे चटनी ।
वरिपरि हरियाे धानले हराभरा खेत, हावाकाे लहरमा बयेली खेलिरहेका धानका साना बाेटहरू, चिसाे मिठाे हावापानी, रुखमा चिउँचिउँ कराइरहेका चराहरूकाे गुञ्जन । तल सुसाइरहेकाे आँधीखाेला !
१००० – १५०० जजमानि दक्षिणामा ज्याला पाउने मेरा बा ले त्यो खाइरहेका थिए, जाे अरबाैँ रुपियाँका मालिकहरूको भाग्यमा थिएन ।
अब भन्नुहाेस् मेरा बा र उनिहरूमा के अन्तर थियाे ?
उनिहरु पनि ७०-७५ वर्षका, बा पनि ७०-७५ वर्षका ।
खाना खाइसकेपछि उनिहरु सुगर र प्रेसरकाे दबाई खाइरहेका थिए, मेरा बा चाहिँ प्रसादीमा पाएको स्याऊको गेडो खोज्दै थिए ।
उनिहरुलाई सेवकले खाना दिन्छन्, बा लाई प्यारी आमाले । उनीहरूको घरमा सुरक्षाकर्मीले सुरक्षा दिन्छन्, बा काे घरमा देउतापितृले । उनीहरूलाई घरमा सुख छ, बा काे मनमा आनन्द छ ।
कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?
आनन्द आफैँमा खाेजाैँ ।
बाँकी त सब गुगलमा खाेजे भेटिन्छ ।
कसैले कसैलाई नहेपौ ।
आफन्तले सकिन्छ आफन्तलाई सहयोग गरौँ ।
सुख दुःख त सबै आफ्नो भाग्य को खेल हो ।
