स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग सञ्चालन

इन्भेष्टोपेपर । पुष २४, २०७८

रसुवा । सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् ।

पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो । राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताउनुभयो ।

ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भिर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेँसी–रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारी साधन आवतजावत गराउँदा भू–धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *