टेम्ज नदीमा ५,००० वर्ष पुरानो मान्छेकाे नलीहाड भेटियाे

इन्भेष्टोपेपर । माघ २०, २०७८

डुङ्गा चलाउँदै गरेका एक व्यक्तिले एउटा लन्डनस्थित टेम्ज नदीमा निकै पुरानाे देखिने मानव हड्डी फेला पारेका छन्। नदीमा होचो छाल आएको बेला साइमन हन्टले तिघ्राको हड्डी फेला पारेका थिए। कार्बन डेटिङ विधिबाट गरिएको परीक्षणले उक्त हड्डी ५,००० वर्षभन्दा पुरानो भएको सङ्केत गर्‍यो।

देख्नासाथ उनले त्यो हड्डी मान्छेको भएको चिनिहाले र अलिकति डराए पनि। “यो निकै पुरानो देखिन्थ्यो, तर मनमनै वा होइन कि भन्ने पनि लाग्यो,” उनले भने।

साइमन ग्राफिक डिजाइनर हुन्। नदीमा विहार गर्न आफ्नो डुङ्गा चढ्न लागेका बेला उनले त्यो हड्डी देखेका थिए। गेगरबाट टिपेर उनले त्यो हड्डीलाई आफूसँगै डुङ्गामा लिएर जलविहार गर्न गए।

साइमनले उक्त हड्डी झाेलामा हालेर घर लगे अनि परिवारिक सल्लाह बमाेजिम प्रहरीलाइ खवर गरे । प्रहरीले परीक्षणका लागि उक्त हड्डीलाई प्रयोगशालामा पठायो।

वास्तवमा उक्त हड्डी ब्रिटिश नवपाषाणयुगको अन्तिमतिर बसोबास गर्ने मानिसको थियो। त्यतिबेला पाषाणयुग अर्थात् ढुङ्गेयुग सकिएको थियो। विज्ञहरूले उक्त हड्डी इसापूर्व ३५१६ देखि इसापूर्व ३३६५ बीचको भएको निर्क्योल गरेका छन्।

तिघ्राको हड्डीको लम्बाइका आधारमा एक पुरातत्त्वविद्ले ती व्यक्ति १७० सेन्टिमिटर (पाँच फिट सात इन्च) अग्लो भएको अनुमान गरेका छन्। तर यो हड्डी महिला वा पुरुष कसको हो भन्ने छुट्ट्याउन सकिएको छैन। यो हड्डी इजिप्टको गिजास्थित पिरामिड र यूकको स्टोनहेन्जभन्दा पुरानो हो।

टेम्ज नदी ऐतिहासिक वस्तु भेटिने खजाना प्रमाणित भएको छ। म्यूजीअम अफ लन्डनमा राखिएका धेरै सामग्री नदीमा मूल्यवान् वस्तुहरू खोज्ने मानिसले फेला पारेका हुन्। साइमन आफूले भेटेको हड्डी म्यूजीअम अफ लन्डनमा राखियोस् भन्ने चाहन्छन्।

लन्डनमा त्यस्ता वस्तु खोज्न पोर्ट अफ लन्डन अथोरिटीबाट अनुमतिपत्र लिनुपर्छ। बिनाअनुमति नदीको किनारामा कुनै सामान खोज्नु वा त्यहाँबाट लैजानु अवैधानिक हुन्छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *