नेपाल लाइफकाे नयाँ ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना
इन्भेष्टोपेपर । फागुन ४ २०७८
काठमाण्डाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न विशेषताहरुयुक्त नयाँ नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।
ब्यक्तिले परिकल्पना गरेकाे आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ ।
न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो । यो जीवन बीमा योजनामा १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति सामेल हुन सक्ने र न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि रहेकाे छ ।
आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू.१,००,०००।– (एक लाख) देखि अधिकतम बीमाङ्क रकम रू. १०,०००,०००।– (एक करोड) सम्मको बीमा गर्न सकिने छ ।
वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम बीमितलाई फिर्ता दिइने छ। बीमा लेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमा लेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
