नेपालमै उत्पादित क्यान्सरको औषधि बिक्री सुरु, विदेशीभन्दा सस्तो पर्ने

इन्भेष्टोपेपर । फागुन ५ २०७८

काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयाे।

टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ । भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपिएएल) सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो ।

कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताउनुभयाे । उहाँले खोप (इन्जेक्सन)मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिनुभयाे । कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ ।

“अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात् ट्याबलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । खोप (इन्जेक्सन) पनि उत्पादन गर्ने तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयाे । कार्यकारी निर्देशक वैद्यले आफूले उत्पादन गरेको औषधि विदेशबाट आएकोभन्दा सस्तो हुने बताउनुभयाे ।

“हामीले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ”, उहाँले भनन्नुभयाे, “उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत दरमा दिनेछौँ ।”

उहाँले नेपालमै उत्पादन हुने भएपछि औषधिको अभाव पनि नहुने बताउनुभयाे । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन हुनु राम्रो भएको भन्दै औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयाे ।

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले नेपालमा नै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको र औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयाे । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताउनुभयाे ।

उहाँले नेपालमा क्यान्सरजस्तै अरु औषधि उत्पादन गरेर मुलुकलाई औषधिमा आत्मनिर्भरता बनाउनुपर्ने बताउनुभयाे । औषधि व्यवस्था विभागका सन्तोष केसीले उत्पादन भएको औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *