उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

इन्भेष्टाेपेपर ।  वैशाख १८, २०७९

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूलाई आज ७५३ वटै निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान
गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, मनोनयन फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिह्न प्रदान गरिएको हो । राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरुपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयद्वारा निर्वाचन चिह्न प्रदान गरिएको छ ।

आयोगको सूचना प्रणालीमा उम्मेदवारहरुको अन्तिम सूची र निर्वाचन चिन्ह प्रदानको अवस्थाबारे विवरण प्रविष्टी भइरहेको छ । छ वटा महानगर र भक्तपुरको मतपत्र छाप्न बाँकी रहेकाले तीभन्दा अन्य पालिकाका लागि छपाई भएका मतपत्रको विवरण निर्वाचन आयोगको वेबसाइटमा समावेश गरिएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुको निर्वाचन चिह्न र विस्तृत विवरण वेबसाइटमा उपलब्ध छ ।

निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये ६६ वटा दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि गत फागुन ५ गते सूचना जारी गरेको थियो ।

निर्वाचन आयोगको गत चैत १३ गतेको बैठकले देशभरका ७५३ स्थानीय तहको वैशाख ३० गते शुक्रबार हुने निर्वाचनमा चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरेको थियो ।

स्वतन्त्र चिन्हको समूहबाट निर्वाचन चिन्ह प्रदान गर्ने र स्वतन्त्र चिन्हको समूहमा समावेश गर्ने आयोगको निर्णय थियो ।

स्थानीय तह निर्वाचनमा कूल ७९ दलले भाग लिन आयोगमा दर्ता गराएका थिए । जसमध्ये ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल, २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन् । त्यस्तै, ४० वटा राजनीतिक दलले यस पटकको निर्वाचनमा भाग लिन दर्ता भएका थिए ।

दर्ता भएकामध्ये वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपाल नौलो जनवादी पार्टी, समावेशी लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद र राष्ट्रिय विकास पार्टीले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *