लघुकथा : धर्म परिवर्तन

— मनु ब्राजाकी

आफ्नो धर्मको संख्यात्मक वृद्धि गरी बहुमत बनाउने चेतना उसमा अचेल तीव्र रूपमा जागृत भएको छ । किनभने, अचेल नेपालमा आर्थिक विपन्नताको कहर चलेको छ । अतः धर्म परिवर्तनको लहर चलेको छ ।

गाउँ–गाउँदेखि सहरसम्म यही चलेको छ ।

धर्म परिवर्तनमा रुचि नराख्ने हिन्दु धर्माधिकारीहरू पनि ध्वजारपताका र शंख ध्वनिका साथ चलेका छन् । यस्तो अवस्थामा उसलाई निष्क्रृय भएर बस्न मन लागेन । धर्म परिवर्तन गर्न सक्रिय भयो ।
सक्रिय हुनासाथ उसले देख्यो ।

गाउँबाट भर्खरै राजधानी आएका, गाउँले सामन्तलाई सर्वस्व बुझाएका, बेस्सरी भूकम्पको धक्का खाएका, बस्ने बाँकी झुप्रोसमेत धर्तीमा गुमाएकाको एउटा परिवार अर्थात् ३० वर्षे युवा लोग्ने, २८ वर्षे युवती स्वास्नी, १३ वर्षे किशोरी छोरी र ८ वर्षे बालक छोरो !

उसले देख्नासाथ लगत्तै सोच्यो, धर्म परिवर्तनका लागि उपयुक्त पात्रहरू !

पुरुष र युवा लोग्ने पात्रको शरीरमा परम्परागत झुत्रे भोटोको सट्टा आधुनिक झुत्रे र मैलो कमिजमाथि र तल शिवलिंग दर्शित लगौँटी थियो । महिला र युवती स्वास्नी पात्रको मैलो र धुजाधुजा परेको चोलो र मजेत्रोबाट बाद्बाँकी रहेको यौवन देखिँदै थियो । किशोरी र १३ वर्षे पात्रको आधुनिक, मैलो, झुत्रे फ्रकबाट उदाउँदै गरेको जून देखिँदै थियो । आठवर्षे बालक पात्र भने पूर्णतः दिगम्बर थियो ।

उसले धर्म परिवर्तन गराउन दिगम्बरनाथको दर्शन गर्दै उदाउँदो जूनतिर हेर्दै, बाद्बाँकी यौवनलाई आँखा तर्दै, लगौँटीका शिवलिंगलाई मायालु पाराले फकाउँदै भन्यो, ‘‘पेटभरि भात खान दिने, आङभरिको लाज ढाकिदिने, लालाबालाले पढ्न र लेख्न पाउने, पछि परन्तुमा घर पनि ठड्याउन सकिने । हाम्रो यस्तो धर्ममा तिमीहरू पनि लाग्ने हो ?’’

आफ्नो गाम गुमाएको, काम नपाएको, माम नखाएको र राजधानीमा बेघर, बेरोजगार र विपन्न भएर मिल्किएको ऊ जस्तोका लागि यो प्रस्ताव, धर्म र परिवर्तनकै लागि भए पनि, प्राण रक्षाका लागि, जीवन रक्षाका लागि, भविष्य रक्षाका लागि ठूलो सौभाग्य ठानेर विनम्र र विनीत भावमा लगौँटीको शिवलिंगले सोध्यो, ‘‘तपाईँको धर्म के हो र ?’’

उसले यताउति पल्याकपुलुक हेर्दै तिनीहरूले मात्र सुन्ने गरी मीठो स्वरमा भन्यो, ‘‘चोरी !’’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *