अनिता तुलाधर र अगिव बनेपालीलाई लघुकथा सम्मान

इन्भेष्टाेपेपर ।  भाद्र ७, २०७९

काठमाडौँ ।  अग्रज लघुकथाकार अनिता तुलाधरलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ प्रदान गरिएको छ। १४औँ लघुकथा दिवसका अवसरमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले २१ हजार रुपियाँसहित उहाँलाई सम्मान गर्नुभयो।

उक्त समारोहमा प्रमुख अतिथि शर्माले दिवङ्गत लघुकथाकार हेमलता उप्रेतीको लघुकथासङ्ग्रह ‘एउटा प्रश्न’ र लघुकथा समाजको मुखपत्र ‘नेपाली लघुकथा’को १०औँ अङ्क विमोचन गर्नुभयो। शर्माले लघुकथा समाजले गरेका कार्यको प्रशंसा गर्नुका साथै लघुकथा लेखनमा हुँदै आएको उत्साहपूर्ण सहभागिताले आगामी दिनमा लघुकथाका क्षेत्रमा उल्लेखनीय प्रगति हुने बताउनुभयो।

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार अशेष मल्ल, सम्मानित व्यक्तित्व अनिता तुलाधर र ‘एउटा प्रश्न’ कृतिका सम्पादक ममता मृदुलले मन्तव्य व्यक्त गर्नुभएको थियो। 

दोस्रो सत्रमा सम्मानित लघुकथाकार अनिता तुलाधरका तीन लघुकथा– मेटिएको सिन्दूर, चुहिएको तरङ्ग र मृत्युको सङ्गीतलाई नाट्यकर्मी राज शाहको निर्देशनमा सर्वनामका कलाकारले मञ्चन गरेका थिए।

यसैगरी १४औँ लघुकथा दिवसका अवसरमा भक्तपुरमा आयोजित समारोहमा लघुकथाकार अगिव बनेपालीलाई ‘धनमान लघुकथा पुरस्कार–२०७९’ प्रदान गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बनेपालीलाई १५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गर्नुभयो। सोही अवसरमा ‘धनमान श्रेष्ठः व्यक्ति एक आयाम अनेक’ पुस्तकमाथि विमर्शसमेत गरिएको थियो।

वरिष्ठ समालोचक प्राडा कुमारप्रसाद कोइरालाले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै धनमानभित्रका अमूर्त पाटा पुस्तकले देखाएको उल्लेख गर्नुभयो । अर्का समीक्षक कृष्णेश्वरी हाडाले धनमानले विभिन्न क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्नुभएको थियो।

भदौ ५ गतेलाई लघुकथा समाज नेपालले लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ। यस पटक सातै प्रदेशमा समाजका प्रदेशस्तरीय समितिले कार्यक्रम गरेर १४औँ लघुकथा दिवस मनाइएको समाजका महासचिव तुलसीहरि कोइरालाले जानकारी दिनुभएको छ। (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *